तपाईँ सुन्दै हुनुहुन्छः

बाफुखोला स्वास्थ्यचौकी भवन दुई वर्षदेखि अलपत्र

सल्यान । सल्यानको बागचौर नगरपालिका–१२ बाफुखोलामा निर्माणाधीन स्वास्थ्यचौकी भवन विगत दुई वर्षदेखि अलपत्र परेको छ । भवन बनाउने जिम्मा पाएको एडी बिल्डर्स सम्पर्क विहिन हुँदा स्वास्थ्य चौकी भवन बिचमै अलपत्र परेको हो ।

१६ कोठे दुईतले भवन दुई वर्षमा सम्पन्न गरि सक्नुपर्नेमा ठेकेदार सम्पर्क बिहिन हुँदा भवन अलपत्र परेको स्वास्थ्यचौकी इन्चार्ज विनोद केसीले बताए । उनका अनुसार अहिलेसम्म झन्डै ६० प्रतिशत काम मात्र सकिएको छ ।

२०७४ असोज ८ गते सम्झौता भएको योजना २०७६ असोज ८ सम्म सक्नुपर्नेमा काम रोकिएको एक वर्ष बित्दा पनि ठेकेदार सम्पर्कमा नआएको केसीले बताए । भवन निर्माण बीचैमा रोकिएपछि पुरानो भवन र केही कोठा भाडामा लिएर सेवा दिनुपरेको उनको भनाई छ ।

बागचौर नगरपालिका–१२ का वडाध्यक्ष दीपक ओलीले ठेकेदारले विभिन्न बहाना बनाउँदै भवन निर्माणको काम अलपत्र पारेको बताए ।

उनका अनुसार ठेकेदारलाई पटकपटक सम्पर्क गर्न खोज्दा उनी फोन स्विचअफ गरेर बस्ने गरेका छन । प्रमुख जिल्ला अधिकारीकहाँ गएर ताकेता गर्न लगाए पनि काम हुन नसकेको उनको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button