तपाईँ सुन्दै हुनुहुन्छः

कालिगण्डकीको छापदेखि दब्छेसम्मको सडक कालोपत्रे हुने

स्याङ्जा । स्याङ्जाको कालिगण्डकी गाउँपालिकाको छापदेखि दब्छे सम्मको सडक कालोपत्रे हुने भएको छ ।

पहिलो पटक स्थानीय सरकारको लगानीमा पालिका भित्र कालोपत्रे हुन लागेको हो ।  छापदेखि दब्छेसम्म तीन किलोमिटर कालोपत्रे सडकको शिलान्यास गर्नुहुँदै गाउँपालिका अध्यक्ष खिमीबहादुर थापाले गाउँपालिकाको आफ्नो लगानीमा दोस्रो ठुलो परियोजनाको रुपमा सडक कालोपत्रे गर्न लागिएको बताउनुभयो ।

सडक नै पहिलो विकासको पुर्वधार भएको भन्दै अध्यक्ष थापाले भन्नुभयो, ‘सडक पूर्वाधार भएपछि अन्य विकासका लागि सहज हुनेछ भने यहाँका नागरिकले उत्पादन गरेका उत्पादनहरू बजारीकरण गर्न सहयोग पुग्नेछ ।’ उक्त सडक प्रदेश नं ५ जोड्ने भएकोले यो सडकलाई नमुना सडकको रुपमा लिइएको उहाँले बताउनुभयो । आफ्नो कार्यकाल भरी सबै वडाहरूमा पिच सडक पु¥याउने अभियानमा रहेको अध्यक्ष थापाले बताउनुभयो ।

एक घर एक धाराको अभियानका साथ पालिका अगाडि बढेको भन्दै अध्यक्ष थापाले भन्नुभयो, ‘दुई हजार घरधुरी खानेपानीको सहज पहुँचमा हुनुहुन्छ । पालिकालाई पर्यटकीय हबको रुपमा विकास गर्न रानी महलको वारी स्विमिङ पुलसहितको पार्कमा पर्यटकलाई आकर्षित गर्ने उद्देश्यका साथ हामी अगाडि बढेका छौँ ।’

गाउँपालिका र सि एम—बि एण्ड बिजेभी काठमाडौँबीच २०७७ असार २५ गते सम्झौता भएको सडक सम्झौता भएको १५ महिना भित्र निर्माण कार्य सम्पन्न गर्नुपर्नेछ ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सबित्रा कोइरालाले जनप्रतिनिधि जनताको सेवामा हरबखत लागिपरेको भन्दै वर्षातमा हिलो र हिउँदको धुलोबाट नागरिकले मुक्ति पाउने बताउनुभयो ।

कार्यक्रममा नेकपा गाउँपालिका अध्यक्ष कृष्ण लामिछाने, वडा नं. ६ का अध्यक्ष लिलाबल्लौ अधिकारीलगायतले बोल्नुभएको थियो ।

प्रीमीक्स कार्पेटिङ प्रविधिमा आधारित उक्त सडक सम्झौता भएको १५ महिनामा सम्पन्न गर्नुपर्ने इन्जिनियर सागर आचार्यले बताउनुभयो । मिर्मि —धारापनी पिच सम्पन्न भएको छ भने धारापानी —ओइगा रानीघाट यो आर्थिक मसान्त भित्र पिच सम्पन्न हुने पालिकाले जनाएको छ ।

त्यसै गरी ओइगादेखि रिँडी कालोपत्रे अन्तिम अवस्थामा रहेको छ भने गहलाम —बनकसी—खहरे टेण्डरको प्रक्रियामा रहेको र गहलाम —घरीपोखरा—देउरालीको पनि कालोपत्रेको तयारीमा रहेको आचार्यले बताउनुभयो ।

सङ्घीय सरकारको समपूरक कोष अन्तर्गत ३ करोड ७ लाखको लागत र कालिगण्डकी गाउँपालिकाको तीन करोड ९ लाखको साझेदारी कार्यक्रममा कालोपत्रे हुने भएको हो ।

यसअघि सिद्धार्थ राजमार्गको जिरोदेखि मिर्मीसम्म १७ किलोमिटर सडक कालिगण्डकी जलविद्युत आयोजनाले पिच गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button