तपाईँ सुन्दै हुनुहुन्छः

चिडियाखानामा अवलोकनकर्ता उत्साहित

काठमाडौँ। स्वास्थ्य मापदण्ड पूरा गर्दै आठ महिनापछि खुलेको ललितपुस्थित सदर चिडियाखानामा अवलोकनकर्ता उत्साहितरुपमै आएका छन् । कोरोना भाइरसको जोखिमका कारण सो चिडियाखाना गत चैत ७ गतेदेखि बन्द थियो ।

चिडियाखाना व्यवस्थापन प्रमुख डा चिरञ्जीवी पोखरेलले कोरोनाको जोखिम अझै कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई चिडियाखाना खुला गरे पनि अवलोकनकर्ता उत्साहजनरुपमा आएको बताउनुभयो । यही मङ्सिर २५ गतेदेखि चिडियाखाना खुला गरिएको हो ।

व्यवस्थापक पोखरेलले भन्नुभयो, “जोखिम कायमै रहेकाले खुला गरे पनि अवलोकनकर्ता आउँछन् वा आउँदैनन् भन्ने विषयमा चिन्ता थियो तर आशाअनुरुप आएका छन्, पुनःसञ्चालनकै शुरुको दिन यही २५ गते ७०० मान्छे आएका थिए भने शुक्रबार ८०० अवलोकनकर्ता आएका छन्, कोरोनाको जोखिम थप नबढे आगामी दिनमा अवलोकनकर्ता थपिनेछन् ।”

सुरक्षा मापदण्डमा अवलोकनकर्ताले अनिवार्य मास्क ल्याउनुपर्ने, एक पटकमा ८०० मानिसले मात्र अवलोकन गर्न पाइने, चिडियाखानाभित्र बसेर खान र जीव जनावरलाई खुवाउन, छुन नपाउने, एक व्यक्ति बढीमा दुईदेखि साढे दुई घण्टामा बाहिर निस्कनुपर्ने र बालबालिकालाई खेलाउन नपाउनेजस्ता रहेका छन् । भित्र जानेको सङ्ख्या जस्तै बाहिर निस्कनेको सङ्ख्या पनि गणना गरिनेछ । जति जना बाहिर निस्कन्छन् सोही बराबरको सङ्ख्यामा नयाँ अवलोकनकर्तालाई प्रवेश दिइने मापदण्ड रहेको छ ।

यसअघि झँै हरेक दिन बिहान १०ः०० देखि साँझ ५ः०० बजेसम्म अवलोकनका लागि सञ्चालन हुनेगरी नै मापदण्ड तयार गरिएको भए पनि एकपटकमा केही सीमित व्यक्तिलाई मात्रै प्रवेशको व्यवस्था गरिएको छ । हाल चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ जीव जनावर रहेका छन् । त्यहाँका मुख्य आकर्षणका रूपमा बाघ, भालु, चितुवा र रातो हाब्रे छन् । ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेका भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ ।

चिडियाखाना अवलोकन गर्न विदेशीका लागि रु ७५०, सार्क देशका लागि रु ५००, नेपालीलाई रु १५० र नेपाली विद्यार्थी र ज्येष्ठ नागरिकका लागि रु ९० शुल्क निर्धारण गरिएको छ । वार्षिक ११ लाख दर्शकसम्म अवलोकन गर्न आउने यहाँ प्रवेश शुल्कबाट नै वार्षिक रु १५ देखि रु १६ करोडसम्मको कारोवार हुने गरेको छ ।

अनलाइन टिकटको प्रयास

भर्खरै मात्र अवलोकनकर्ताको सहजताका लागि चिडियाखानाले अनलाइनबाट टिकट काट्ने व्यवस्था गरेको छ । धेरैलाई यस विषयमा जानकारी नहुँदा अहिले यसको अभ्यास कम भएको छ । एक दिनमा १० जना जतिले मात्र अनलाइनको प्रयोग गरी टिकट काटेका छन् ।

चिडियाखानाको वेबसाइट वा इसेवामार्फत टिकट काट्न सकिने व्यवस्था मिलाइएको जनाइएको छ । व्यवस्थापनले स्वास्थ्य मापदण्ड पूरा गरी तिहारपछि खोल्ने तयारी गरे पनि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट निर्णय नआउँदा खुल्न सकेको थिएन ।

तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्धशम्शेर जङ्गबहादुर राणाले सन् १९३२ मा निजी चिडियाखानाका रूपमा स्थापना गर्नुभएको थियो । विसं २०११ देखि सर्वसाधारणका लागि खुला गरिएको चिडियाखाना विसं २०५२ देखि यसको व्यवस्थापनको जिम्मेवारी ३० वर्षका लागि सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गरेको थियो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button