तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतको कुश्मामा जिपलाईन सञ्चालन हुँदै

पर्वत । पर्वतको कुश्मामा पर्यटक आकर्षित गर्ने हेतुले जिप लाईन निर्माण गरिने भएको छ ।

कुश्मा नगरपालिका ५ चाक्लेको डिलबाट कालीगण्डकी नदीको किनारमा रहेको साउनेबगर सम्म १४ सय मिटरको दुरीमा जिप लाइन बनाउन थालिएको हो ।

साहसिक पर्यटनको लागि जिल्लाका यूवाहरुले झण्डै ११ करोड लगानी गरेर जिप लाइन निर्माणको थालनी गरेको जनाएका छन् । कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले उक्त परियोजनाको आज एक कार्यक्रमका बिच शिलन्यास गर्नुभयो ।

जिप लाइन निर्माणमा नगरप्रमुख जोशीसहित, नरेन्द्र केसी, राजकुमार बस्नेत, सागर जोशी, विदुर पौड्याल, सूर्यबहादुर क्षेत्री र सुनिल बानियाँले लगानी गरेका हुन् । कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले पर्वत साहसिक पर्यटनको हव बन्न थालेको बताउनुभयो ।

साहसिक पर्यटनमा भएको लगानी खेर नजाने बताउँदै जोशीले पर्यटन प्रवर्द्धनबाटै जिल्लाको समृद्धि सम्भव रहेको धारणा राख्नुभयो । उहाँले पर्वत पोखरा पछिको पर्यटकीय गन्तव्य बन्ने योजनामा रहेको बताउनुभयो । कुश्मा नगरपालिकाले पर्यटन पूर्वाधारमा लगानी गरेर जिल्लाको समृद्धिको यात्रा तिव्र गतिमा अगाडी बढाउन चाहेको पनि नगरप्रमुख जोशीले बताउनुभयो ।

चार महिनामा सबै संरचना निर्माण गरिसक्ने निर्माणको जिम्मा लिएको श्याम जिपलाईन कम्पनीले जनाएको छ । कम्पनीका ईन्जिनियर नविन म्यासीले यो जिप लाईन सुपर म्यान शैलीमा निर्माण हुन थालेको बताउनुभयो । म्यासीका अनुसार क्लासिक जिपलाइनमा कुर्सीमा बसेजस्तै गरेर डोरीमा बगिन्छ भने सुपर म्यानमा सुपर म्यान जस्तै घोप्टो सुतेर गन्तव्यमा पुगिन्छ ।

क्लासिक जिपलाइनमा पोखराको जिपलाइनको लम्बाई कुस्मामा बन्दै गरेको हार्नेस जिपलाइन प्रा.लि.को भन्दा बढी हुने भए पनि सुपर म्यान शैलीमा पर्वतको जिपलाइन विश्वकै दोस्रो लामो बन्ने भएको निर्माण कम्पनीले जनाएको छ ।

इन्जिनियर मेस्सीका अनुसार पर्वतको जिपलाइनमा एकै पटकमा दुई जना सँगै झुण्डिन मिल्छ भने ६० देखि ९० सेकेन्डको समय अवधिभित्रमा यात्रा पूरा हुन्छ । जिपलाइनमा प्रयोग हुने डोरीले एक पटकमा दुई हजार किलो तौल धान्न सक्नेछ ।

साउनेबगरमा रिसोर्ट पनि सञ्चालन गर्ने योजना रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button