तपाईँ सुन्दै हुनुहुन्छः

होटल तथा पर्यटन व्यवसायीद्वारा सिमाना खोल्न माग

वीरगञ्ज । वीरगञ्जका होटल र पर्यटन व्यवसायीले वीरगञ्ज–रक्सौलस्थित सिमाना खोल्न सरकारसँग माग गरेका छन् ।

सरकारले कोरोना महामारी नियन्त्रणका लागि बन्द गरेको भारतसँगको सीमा औपचारिक रूपमा नखोल्दा भारतीय पर्यटक नआएको भन्दै व्यवसायीले सिमाना खोल्न माग गरेका हुन् ।

होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले विज्ञप्ति जारी गर्दै सरकारले विगत ९ महीनादेखि सीमा बन्द गर्दा पर्यटन र सरोकारका होटल व्यवसाय चौपट भएको बताउनुभएको छ ।

भारतले गत कात्तिक पहिलो हप्तादेखि आफ्नो सिमानाबाट आवागमन खुला गरे पनि नेपालतर्फ खोलिएको छैन । सिमाना औपचारिक रूपमा नखुले पनि अनौपचारिक आवागमन भने रोकिएको छैन ।

सीमा नखोल्दा बेलाबेलामा सुरक्षाकर्मीले अवरोध गर्दैै आएका छन् । यसबाट पर्यटक आउन हिच्किचाएको व्यवसायीको भनाइ छ । मानिसहरूको अनधिकृत आउजाउ भइरहेकाले अब सिमाना बन्द गर्नुको कुनै अर्थ नरहेको र यसले वीरगञ्ज क्षेत्रका होटल व्यवसाय नराम्ररी प्रभावित भएको पन्तद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

तत्काल सिमाना खुला गरेर आवागमन सहज बनाउन माग होटल व्यवसायीले गरेका छन् । वीरगञ्ज क्षेत्रको होटल व्यवसाय भारतीय पाहुनाको भरमा चलेको र मुख्य नाका नै बन्द भएपछि पर्यटक नआउँदा ९ महीनादेखि वीरगञ्जका होटल टाट पल्टिने अवस्थामा पुगेको अध्यक्ष पन्तले बताउनु भयो ।

बन्दाबन्दी खुलिसकेको र भारतले पनि एकतर्फी रूपमा सीमा खोलेपछि नेपालले बन्द राख्नु सरकारको अदूरदर्शी निर्णय भएको टिप्पणी व्यवसायीहरूको छ । ‘जबसम्म सीमा सुचारु हुन्न, तबसम्म कोरोनाले थालिएको होटल र पर्यटन व्यवसायले गति लिन सक्दैन,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसमेत सुचारु भइसकेको अवस्थामा सिमाना मात्र बन्द राख्नुको कुनै औचित्य नभएको पन्तले बताउनु भयो । होटल व्यवसायीहरुले ७ दिनभित्र सिमाना सुचारु नभए अनशनमा बस्ने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button