तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्ची आयोजनाविरुद्ध स्थानीयहरूको आन्दोलन, निर्माण सामाग्री ढुवानी ठप्प

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाबाट पाउनु पर्ने बाँकी रकम भुक्तानीको माग गर्दै आएका स्थानीय सप्लायर्सले आयोजनाविरुद्ध पुनः आन्दोलनको सुरुवात गरेका छन् ।

यस अघि पनि रकम भुक्तानीको माग राख्दै पटक पटक आन्दोलन गर्दै आएका उनीहरूको माग सुनुवाइ नभएको भन्दै फेरी पनि आयोजना विरुद्ध आजबाट आन्दोलन थालेका हुन् ।

हालसम्म पनि रकम भुक्तानीको सुनिश्चितता नभएका कारण आयोजना विरुद्ध आन्दोलनमा उत्रिन परेको पीडित स्थानीय सप्लायर्स उत्तर कुमार श्रेष्ठको भनाई छ ।

आयोजनाबाट पीडित मजदुर तथा सप्लायर्सको समस्या समाधानका लागि भन्दै विभिन्न चरणमा छलफल तथा कार्यदल गठन भएता पनि हालसम्म रकम भुक्तानीको ठोस निर्णय नभएकोले राष्ट्रिय गौरवको आयोजनाविरुद्ध अन्तिम लडाइको तयारी गर्नुपरेको अर्का सप्लायर्स बिष्णुमणी आचार्यले बताउनुभयो ।

सिएमसीबाट पाउनु पर्ने रकम भुक्तानीको माग राख्दै मेलम्ची खानेपानी विकास समितिलाई गत कार्तिकमा बुझाइएको ज्ञापन पत्रको हालसम्म पनि सुनुवाइ नभएको र उक्त पत्रको बोधार्थ जिल्लादेखि प्रधानमन्त्रीको कार्यालयसम्म दिँदा समेत मेलम्ची पीडितको बेवास्ता गरिएकोले आन्दोलनको विकल्प नभएको आचार्यको भनाई छ ।

हालै मात्र इटालियन ठेकेदार कम्पनी सिएमसीले विश्वका विभिन्न देशका भेन्डर तथा सप्लायर्सहरुलाई तिर्न बाँकी रकमको सुची सार्वजनिक गरेको छ ।

जसमा मेलम्ची खानेपानी आयोजनामा सिएमसीले स्थानीय भेन्डर तथा सप्लायर्सहरुको तिर्न बाँकी रकम समेत उल्लेख गरेको छ ।

सोको आधारमा पनि नेपाल सरकारले सिएमसीसँंग जफत गरेको धरौटी रकमबाट स्थानीय सप्लायर्स तथा भेन्डरको रकम भुक्तानी गर्नुपर्ने आचार्यले बताउनुभयो ।

आयोजनाले स्थानीय सप्लायर्सहरुको साढे सत्र करोडभन्दा बढी रकम भुक्तानी दिन बाँकी रहेको पीडित सप्लायर्सले बताउँदै आएका छन् ।

पीडित सप्लायर्सहरुले आजबाट आयोजनाको सामान ढुवानी गर्ने कुनै पनि साधनहरू चल्न नदिएको बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button