तपाईँ सुन्दै हुनुहुन्छः

राजतन्त्र फर्किन्छ भनेर कल्पना गर्नु बेकार : पूर्व मन्त्री चेम्जोङ्ग

धनकुटा । जनता समाजवादी पार्टीका केन्द्रीय नेता एवं विदेश विभाग प्रमुख रकम चेम्जोङ्गले राजतन्त्र फर्किन्छ भनेर कल्पना गर्नु बेकार भएको बताउनुभएको छ । जनता समाजवादी पार्टी जिल्ला कार्य समिति, धनकुटाले बुधवार धनकुटामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता चेम्जोङ्गले यस्तो बताउनु भएको हो । पूर्व शान्ति मन्त्री समेत रहेका चेम्जोङ्गले मुलुकको राजनीति निराशाजनक अवस्थामा गुज्रिरहेको बेला देशी विदेशी शक्तिहरूको चलखेलमा राजावादीहरू सल्वलाए पनि राजतन्त्र फर्किएर आउँछ भनेर कल्पना गर्नु बेकार हुने दाबी गर्नुभयो ।

उहाँले दुई दिन अघि मोरङको मिक्लाजुङ्गमा भएको शिक्षक हत्याको घटनाको विषयमा पत्रकारहरूले उठाएको जिज्ञासामा कोही कसैले व्यक्ति हत्यामा उत्रिनु राम्रो नभएको बताउनुभयो । उहाँले घटनाको विप्लव नेतृत्वले जिम्मा लिए पनि यसरी व्यक्ति हत्या गरेर राजनीतिमा कहिले पनि सफलता नपाइने भन्दै शान्तिपूर्ण बाटोमा आउन आग्रह गर्नुभयो ।

जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष बलवहादुर राईको अध्यक्षतमा सम्पन्न पत्रकार सम्मेलनमा पार्टीका युवा नेताहरू अर्जुन थापा, राजकुमार राई, जिल्ला स्तरीय नेताहरू नगेन्द्र देवान, राम रायमाझी, विकास घिमिरे, पार्वती राई लगायतको उपस्थिति रहेको थियो । नेता चेम्जोङ्ग जिल्ला स्तरीय सङ्गठन विस्तार एवं पार्टी समायोजनको सिलसिलामा केही दिनदेखि आफ्नो गृह जिल्ला धनकुटामाल हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button