तपाईँ सुन्दै हुनुहुन्छः

२ अर्ब बढी लागतमा प्रदेश १ मा रिफ्रेसमेन्ट सेन्टरको शिलान्यास

 सुनसरी -सुनसरीको कोशी कटान क्षेत्रमा २ अर्ब बढी लागतमा प्रदेश सरकारले रिफ्रेसमेन्ट सेन्टरको बुधबार मुख्यमन्त्री शेरधन राईले शिलान्यास गर्नुभएको छ ।

शिलान्यास पछि बोल्दै मुख्यमन्त्री शेरधन राईले कोशीको बगरलाई सदुपयोग गरी निर्माण हुने यो रिफ्रेसमेन्ट सेन्टर मुलुककै र गौरवपूर्ण परियोजना हुने बताउनुभयो ।

उहाँले कटान क्षेत्रमा बन्ने पूर्वाधारयुक्त आधुनिक संरचनाले प्रदेश १ को पर्यटन प्रर्वद्धनमा समेत ठूलो योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । कोशी कटान क्षेत्रमा आधुनिक बसपार्कसहित होटल, स्वीमिङ पुल, फ्यूल सेन्टर, स्वास्थ्य चौकी, ट्राफिक र प्रहरीको बन्दोवस्ती लगायतका संरचनाहरु निर्माण हुने छन् ।

फरक प्रसंगमा मुख्यमन्त्री राईले विगतमा नेतृत्व गर्नेहरु र सिंहदरबार चलाउनेहरुले जनभावना नबुझेकाले लोकतन्त्र र संघीयतासहित तीन तहको सरकार बनेको चर्चा गर्नुहुदै सरकार जनभावनाको काममा लागेको बताउनुभयो ।

वहाँले अहिले नेकपा भित्रको सामान्य आन्तरिक विवादको फाइदा उठाउन केहीले कहिले पार्टी फुटोस भनेर चाहेकोमा त्यो कुनै पनि हालतमा नहुने बताउनुभयो । नेकपा पार्टीको विवादका कारणले सडकमा आएका राजाबादीहरुको चुरीफुरी, रोईकराई र हत्या आतंकमा उत्रेका पक्ष तर्फ इंगित गर्नुहुदै दुवै पक्षहरुलाई आफ्नो बाटोमा आउन आग्रह गर्नुभयो ।

प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियैतले वर्तमान सरकारले यस क्षेत्रको विकासमा ठूलो योगदान गरेको बताउनुभयो । उहाँले प्रधानमन्त्री, उपप्रधानमन्त्री जस्ता ठूला नेता जन्माएको प्रदेशले पहिले केही नपाएपनि अहिलेको सरकारले न्याय गरेको उहाँको भनाई थियो ।

उहाँले आफु मन्त्री भएपछि मात्र पश्चिम सुनसरीले विकास देख्न पाएको दावी पनि गर्नुभयो । रिफ्रेस्मेण्ट सेन्टरले यात्रुलाई सहजता सहित पर्यटन प्रवर्धनलाई व्यवस्थित गर्न योगदान गर्ने बताउनुभयो ।

वहाँले कोशी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न समेत रिफ्रेस्मेण्ट सेन्टरले योगदान गर्ने सरकारको विश्वास रहेको बताउनुभयो ।
विश्वमै दुर्लभ मानिएको अर्ना र चराको राजधानीको रुपमा चिनिएको कोश टप्पु बन्यजन्तु आरक्षमा सबैभन्दा बढी पर्यटक भित्रिने आकर्षक पर्यटकीय गन्तव्यस्थल रहेकोले रिफ्रेस्मेण्ट सेन्टरले थप योगदान गर्ने दावी गर्नुभयो ।

प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको ड्रिम परियोजनाको रुपमा रहेको रिफ्रेसमेन्ट सेन्टर लामो दूरीमा यात्रा गर्ने सवारीका साधनलाई रोकेर चालकलाई रिफ्रेस गराउदै सुरक्षित यात्रा तय गराउने कामका लागि प्रयोग गर्ने सरकारको योजना छ ।

परियोजना अन्र्तगत पहिलो चरणमा २७ करोड ५ लाख १९ हजार ९ सय ४ रुपैया बराबरको काम सम्पन्न गर्ने र त्यसको ठेक्का लागिसकेको कार्यक्रममा जानकारी दिइएको छ । यस कामको संरचना निर्माण गर्ने कविन्द्र नव सिर्जनशील जेभी सिनामंगल काठमाडौंले पाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button