तपाईँ सुन्दै हुनुहुन्छः

संघ र पदाधिकारीको नामावली सिफारिस गर्न समितिलाई अख्तियारी

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेल संघको विवाद समाधानका लागि गठन गरेको समितिलाई ३५ दिनभित्र विवादित देखिएका संघ र पदाधिकारीको नामावली सिफारिस गर्न अख्तियारी दिएको छ ।

खेलकुद मन्त्रालयले एकै प्रकृतिका एक भन्दा बढी खेल संघ तथा महासंघको विवाद समाधानका लागि राखेप उपाध्यक्ष शिव कोईरालाको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरेको थियो ।

समितिका सदस्यले आधिकारिक पत्रसहित ५ बुँदे अख्तियारी प्राप्त गरेका छन् ।

मन्त्रालयले उपाध्यक्ष कोईरालाको नेतृत्वमा मन्त्रालयका खेलकुद महाशाखा प्रमुख सदस्य रहने गरी बोर्ड सदस्यहरु गोविन्द्र भट्टराई, पुरेन्द्र बिक्रम लाखे, नन्दा बस्याल, राखेपका कानुन अधिकृत नारायण अर्याल र संघ संस्था शाखा प्रमख इन्द्र कार्कीसहितको ७ सदस्यीय विवाद समाधान समिति गठन गरेको थियो ।

समितिलाई राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार एकै प्रकृतिका एक भन्दा बढी खेल संघ वा महासंघलाई एउटै बनाउन आवश्यक पहल गरि सिफारिस गर्ने अख्तियारी दिईएको छ ।

यस्तै, खेल संघ वा महासंघको विवाद समाधान गरी संघ वा महासंघका पदाधिकारी सहितको नामावली ३५ दिनभित्र सिफारिस गर्ने अख्तियारी समितिले पाएको छ । यस्तै, ऐन अनुसार विधि सम्मत नदेखिएका खेल संघलाई छानबिन गरी विधि सम्मत बनाउन सिफारिस गर्ने र समितिको बैठक र कार्य प्रक्रिया सम्बन्धी कार्यविधि समिति आफैले निर्धारण गर्ने अख्तियारी समेत पाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button