२०७८ साल मंसिर २० गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानको टिमुरले बजार पाएन

दीपक शर्मा २०७७ मंसिर २४ गते १६:२०

सल्यान । जिल्लामा उत्पादन भएको टिमुरले बजार मूल्य नपाएपछि व्यावसायिक किसानहरु समस्यामा परेका छन् । व्यावसायिक टिमुर खेतीका लागि चिनिएको सल्यानमा यस वर्ष टिमुरले बजार नपाएपछि किसानहरु निराश बनेका छन् ।

छत्रेश्वरी गाउँपालिका ५ महानेटाका किसान मोहन केसीले आफूँले उत्पादन गरेको टिमुर बिक्री नहुदाँ घरमा नै थन्किएको बताए । गत वर्ष टिमुर बिक्रीबाट मात्रै झण्डै ३ लाख रुपैयाँ आम्दानी गरेका उनले यस वर्ष भने झण्डै ३ क्विन्टल टिमुर बिक्री नभएको बताए ।

विगतमा प्रतिकेजी ७ सय रुपैयाँका दरले बिक्री गरेको टिमुर यस वर्ष ४ सय रुपैयाँ प्रति किलोमा समेत बिक्री नभएको उनको भनाई छ । उनले भने ‘मैले गहुँ मकैँ रोप्ने वारीमा टिमुर खेती गरेको छु । टिमुरका ५ सय वोटले उत्पादन दिइरहेका छन, केही साना बोटहरु पनि रहेका छन् । टिमुर बिक्रीबाटै जीवनगुजारा चलाउदैँ आएको थिए, यस वर्ष टिमुर बिक्री नहुँदा समस्या भएको छ ।’

गत वर्ष टिमुर बिक्री गरेर २ लाख ५० हजार रुपैँया बढी आम्दानी गरेका अर्का किसान लोक बहादुर डाँगीले पनि उत्पादन गरेको टिमुर यस वर्ष बिक्री नभएको गुनासो गरे । आफूँसँग भएको झण्डै अढाई क्वीन्टल टिमुर बिक्री नभएर थन्किएको उनको भनाई छ ।

बिगतमा जिल्लामा उत्पादित टिमुर भारत हुँदै फ्रान्स निर्यात भएको थियो । जिल्लामा उत्पादित टिमुरलाई अर्ग्यानिक टिमुरका रुपमा लिइन्छ । परम्परागत रूपमा अन्नबाली लगाउँदै आएका किसान जडीबुटीबाट मनग्य आम्दानी हुने भएपछि टिमुरखेतीमा लागेका थिए ।

विश्वभर फैलिएको कोभिड १९ का कारण टिमुर निर्यात नहुँदा टिमुरले बजार नपाएको व्यापारीहरुको भनाई छ ।

सम्बन्धित