तपाईँ सुन्दै हुनुहुन्छः

चक्लाबन्दीमा एकिकृत कृषि विकास कार्यक्रम मेलम्चीमा सञ्चालन हुने

सिन्धुपाल्चोक । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र मेलम्ची नगरपालिकाबिच लगानी साझेदारी सहित चक्लाबन्दीमा एकिकृत कृषि विकास कार्यक्रम सञ्चालन गर्न सम्झौता भएको छ ।
कृषि आधुनिकीकरणका लागि यान्त्रीकरण मैत्री गह्रा सुधार लगायत बाझिएका जग्गाहरूमा चकलाबन्दि गर्न सकिने सम्भाव्यताको समेत अध्ययन भएको छ । निर्वाहमुखी कृषि प्रणालीलाई आधुनिक र व्यवसायीक बनाई उत्पादन वृद्धि गर्न सञ्चालित जमिन चक्लाबन्दी कार्यक्रम मेलम्ची नगरपालिकामा पनि सञ्चालन हुने भएको हो । भूमिको बढ्दो खण्डीकरण एवं जग्गा बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै कृषि उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम सुरु गरिएको हो । यसबाट खेतीबाली लगाउन सहज हुनाका साथै कम लागतमै उत्पादन वृद्धि हुने विश्वास गरिएको छ ।
कृषियोग्य जमिनमा उत्पादन र उत्पादकत्व वृद्धि गर्न स–साना कित्ताका जमिनलाई एकीकृत गरी सामूहिक खेतीका माध्यमबाट टुक्रे उत्पादनको प्रवृत्तिलाई अन्त्य गर्ने सरकारको लक्ष्य अनुरूप मेलम्ची नगरपालिकामा पनि प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम लागु गर्न लागिएको मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालको भनाइ छ । कृषियोग्य जमिन जनसङ्ख्या वृद्धि र एकल परिवारको बढ्दो प्रचलनका कारणले विखण्डित भएर खेती गर्न कठिन हुनाका साथै सिमाना थपिँदै जाँदा खेतीयोग्य जमिनसमेत घटेकाले चक्लाबन्दी कार्यक्रम सञ्चालन गर्ने नीति लिएको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख प्रकाश पौडेल र मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । खेतीयोग्य भूमिलाई अन्य प्रयोजनको लागि अतिक्रमित हुन नदिई त्यस्तो भूमिको जगेर्ना गर्ने, जग्गा बाँझो राख्ने तथा खण्डीकरण गर्ने प्रवृत्तिलाई दुरुत्साहन गर्ने तथा रोजगारीको अवसर सिर्जना गर्नका लागि चक्लाबन्दी कार्यक्रम सञ्चालन गर्न लागिएको प्रमुख अर्यालले जानकारी दिनुभयो । नगरपालिका भित्र कृषि उत्पादन तथा व्यवसायीकरण तर्फ सञ्चालन हुने सबै खाले कार्यक्रमहरूलाई चक्लाबन्दी तर्फ आबद्ध गर्दै लैजाने योजना समेत रहेको प्रमुख अर्यालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button