भारतले एकतर्फी नाका खोलेपछि सयौं नेपाली सिमामा अलपत्र
वीरगंज । एकतर्फी रुपमा भारतले ७ महिनादेखी कोरोना संक्रमणको कारण बन्द रहेको नेपाल–भारत सिमा आज विहान देखि खोलेको छ ।
भारतीय सिमा खुलेसँगै नेपालमा रोकिएका भारतीय नागरिकहरु वीरगंज नाका हुदै भारत तर्फ गएका छन ।
भारतीय महाबाणिज्य दुतावास वीरगजका अधिकृत सुरेश कुमारले भारतको गृहमन्त्रालयले अक्टोबर २२ देखि नेपालसँग सिमा जोडिएका नाका खुला गर्ने निर्णय गरेसँगै विहानैबाट वीरगंज रक्सौल लगाएका नाकाहरु खुलेको जानकारी दिनु भयो ।
कोरोना संक्रमणको कारण दुवै देशको सिमा नाकामा आवत जावतमा प्रतिबन्ध लगाईएकोमा भारतले एकतर्फी रुपमा प्रतिबन्ध फुकुवा गरी नाका खोलेपछि वीरगंजको सिमावर्ती भारतीय नाका रक्सौलमा नेपाल प्रवेश गर्न खोज्ने नेपाली तथा भारतीय नागरिकहरुको ठूलो भिड रहेको छ ।
रक्सौलबाट नेपाल प्रवेश गर्न खोज्नेहरुलाई नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले रोकेपछि अहिले रक्सौलमा सयौ नेपाली अलपत्र परेका छन् ।
यता पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गले भारतले एकतर्फी रुपमा सिमा खोलेपछि समस्या भएको र भारतबाट नेपाल भित्रीने भारतीय नागरिकहरुलाई रोक्न नेपाल भारत सिमा क्षेत्रमा आज विहानबाटै नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको थप बल परिचालन गरिएको जानकारी दिनु भयो ।
त्यसैगरी सशस्त्र प्रहरी बल गण नम्बर १३ पर्साका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकाले नेपाल सरकारको पछिलो निर्णय अनुसार कार्तिक ३० गतेसम्म सिमा बन्द रहने बताउदै कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारको निर्देशन अनुरुप भारतबाट नेपाल प्रवेश गर्नेहरुलाई रोक्ने जानकारी दिनुभयो । यता चाडवाड भित्रिने क्रम शुरु भएसँगै वीरगंजबाट लुकिछिपी भारतीय बजार रक्सौलमा नारायणगढ, हेटौडा, सिमरा, जितपुर, चन्द्रनिगाहपुर, निजगढ लगायतका क्षेत्रका उपभोक्ताहरु जाने गरेको र उपभोग्य सामान लत्ताकपडा समेत रक्सौल बजारबाट प्रहरीको आँखा छलेर भित्र्याउने क्रम बढेको थियो ।
प्रतिक्रिया राख्नुहोस्