तपाईँ सुन्दै हुनुहुन्छः

धान बालीमा गबारो किराको प्रकोप, मन्त्री साहद्वारा निरीक्षण

राजविराज । सप्तरीसहित प्रदेश २ का आठ वटै जिल्लाका धान बालीमा गबारो  किराको प्रकोपले वाली सुक्न थालेको छ ।

प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले यस प्रदेशका ९५ प्रतिशत धान बालीमा ग्वारो किराको प्रकोप देखिएको बताउनुभयो ।

खेतमा धान बाली सुक्न थालेपछि सप्तरीको खडक नगरपालिकाका किसानको अनुरोधमा स्थलगत निरीक्षण गर्न खेतमै पुग्नुभएका मन्त्री साहले यस्तो कुरा बताउनुभयो । खेतमा असन्तुलन रासायनिक मल तथा प्रतिकूल वातावरणका कारण धानमा ग्वारो किराको प्रकोप बढेको उहाँले बताउनुभयो ।

पुतली जातको ग्वारो धानको ढाड नै काट्ने गर्दा सुक्ने गरेको छ । कृषि ज्ञान केन्द्र राजविराजका पीपीओ दिनेश प्रसाद यादवका अनुसार खेतमा प्रयोग गरिने रासायनिक मल डीएपी, युरिया, पोटासलगायतको मलको सही मात्रा नमिल्दा बालीको जरो नरम र कमजोर हुँदा किराले आक्रमण गर्न थालेको छ । जहाँ मलको मात्रा मिलाएर हालेको छ , त्यस खेतको धानमा ग्वारोको प्रकोप नरहेको उहाँले बताउनुभयो ।

धानमा लागेको किरालाई नियन्त्रण गर्न कार्बोथेरामिन कीटनाशक औषधि सातामा दुई/तीन पटक छर्न सुझाव दिँदै उहाँले यसको बारेमा किसानलाई प्राविधिक ज्ञानसहित रोकथाम तथा नियन्त्रणको लागि प्रत्येक स्थानीय तहमा रहेको कृषि प्राविधिकलाई परिचालन गर्न निर्देशन दिइसकेको मन्त्री साहले जानकारी दिनुभयो ।

सप्तरीमा कूल ८० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये ६२ हजार ८०० खेती योग्य जग्गामा धान रोपाइँ सम्पन्न भएको ज्ञान केन्द्रका प्रमुख राजेन्द्र प्रसाद यादव जानकारी दिनुभयो ।

यसै गरी सिराहा जिल्लामा ५४ हजार हेक्टर धान खेती योग्य जग्गामा ५१ हजार ३०० हजार हेक्टर जग्गामा धान रोपाइँ भइसकेको बताइएको छ

कृषकले कम समयमा धेरै उत्पादन हुने खालका स्थानीय (लोकल) वा भारतीय धानको बिउ रोपाइँ गरिएको अनुगमनको क्रममा पाइएको सूचना अधिकारी किसुनदेव राउतले भन्नुभयो, सोना मन्सुली, कतरनी, क्रान्ति, कान्छी मन्सुली लगायतको लोकल धान लगाइएको छ ।

ती सबै जातको धानमा ग्वारो किराको प्रकोप रहेको छ । ग्वारो किरालाई नियन्त्रण गर्न नसकिए धान बाली नै सखाप हुने खतरा छ । स्थानीय तहमा कार्यरत कृषि शाखाका प्राविधिकहरुलाई किसानले अहिलेसम्म भेट्न नसकेको पालिका स्थानीयहरूले भन्नुभयो , धानमा लागेको प्रकोपको बारेमा एग्रोभेटका पसललाई भनेपछि पसलेले जे औषधि भन्छन्, त्यही औषधि प्रयोग गर्छु । यसले ठिक हुन्छ कि हुँदैन, थाहा छैन । के गर्ने, कसलाई भन्ने, किसानलाई प्राविधिक ज्ञान दिने प्राविधिकहरू पालिकाको कार्यालय बाहिर निस्केको देखिएको छैन । चिनेको पनि छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button