तपाईँ सुन्दै हुनुहुन्छः

बाफुखोलाका बाढी पहिरो पीडितले अझै पाएनन् राहत

सल्यान । भदौ ३ गते राती आएको बाढी पहिरोबाट विस्थापित बागचौर नगरापालिका–१२ वाफुखोलाका ७१ घरपरिवारले अझै राहत पाउन सकेका छैनन् ।

बाढी पहिरोले घरबार बगाएर विस्थापित बनेको चार दिन भइसक्दा समेत उनीहरूले राहत पाउन सके छैनन् ।

विद्यालय र छिमेकीहरूको घर बसेको चार चार दिन भइसक्दा समेत राहत नसेकेको पीडित वीर सिंह डाँगीले बताए । उनले भने ‘बस्दै आएको दुई वटै घर पहिरोले बगायो । भएको सबै सम्पत्ति पनि बचाउन सकिएन । अहिले छिमेकी घरमा शरण लिएर बसेका छौँ । परिवारलाई खुवाउने एक गेडो चामल छैन, खै कहिले पाइने हो राहत ?’

रातको २ बजे पहिरो आएपछि परिवारलाई मात्र बचाउन सकेको बताउँदै डाँगीले परिवारलाई एक छाक खुवाउन र एक सरो कपडा फेर्न समेत नसकेको उनले बताए ।

घरको दुवै तिरबाट बाढी आएपछि विद्यालयमा बसेको चार दिन भयो तर राहत भने केही नपाएको विमला वलीले दुखेसो पोखिन । घरमा बस्न सक्ने अवस्था नभएपछि विद्यालयमा बस्दै आएको तर अहिलेसम्म कुनै पनि निकायले वास्ता नगरेको उनको भनाई छ । उनले भनिन ‘अहिले पनि माटो बगाई रहेकाले अध्येरीको बस्ती नै जोखिममा रहेकाले उक्त बस्ती नै स्थानान्तर गर्नुको विकल्प देखिँदैन ।’

गत भदौ ३ गते आएको बाढी पहिरोले १२ न वडाका तीन घर पूर्ण रूपमा क्षति भएका छन् भने झन्डै २ सय घर पहिरोको उच्च जोखिममा रहेका छन् ।

बाढी पहिरोले घरमा क्षति पुर्‍याएपछि २५ घरपरिवार विद्यालय र बाँकी छिमेकीको घरमा बस्दै आइरहेको वडाध्यक्ष दिपक वलीले बताए ।

विस्थापित र क्षतिको तथ्याङ्क सङ्कलन भइरहेको अध्यक्ष वलीको भनाई छ । उनले भने ‘मानवीय क्षति नभए पनि भौतिक क्षति धेरै भएको छ । वाफँुखोला गाविसको साबिकका वडा न ३,४ र ५मा बढी क्षति पुर्‍याएको छ । त्यसको तथ्याङ्क सङ्कलन पछि राहत वितरण गर्ने सोचमा छौँ ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button