२०७८ साल असोज ३ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना फैलिन नदिन भद्रपुरले गर्‍यो कडा निर्णय

रोहित काफ्ले २०७७ भदौ ७ गते १२:२४

झापा । जिल्लाका अरू स्थानीय तहमा समुदायमै कोरोना भाइरस संक्रमण देखिएपछि झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले जिल्ला बाहिरका मानिसको प्रवेशलाई रोक लगाउने निर्णय गरेको छ ।

सर्वपक्षीय प्रतिनिधित्व रहेको नगरको कोभिड–१९ जोखिम व्यवस्थापन समितिको आइतबार बसेको बैठकले त्यस्तो निर्णय गरेको हो ।

बैठकले जिल्ला बाहिरबाट प्रवेश गर्नुपर्ने अवस्थाका मानिसले टोल विकास संस्था, वडा समिति वा स्वास्थ्य शाखामार्फत नगरपालिकासँगको समन्वयमा भद्रपुर नगरपालिकाभित्र प्रवेश गर्न पाउने र प्रवेश गरेपछि पनि कम्तीमा ७ दिन होम क्वारेन्टिनमा बसी कोभिड–१९ सम्बन्धी नेपाल सरकारको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने निर्णय गरेको छ ।

यो निर्णय आइतबारदेखि सात दिनका लागि गरिएको समितिका अध्यक्ष नगरप्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यसै गरी, कोभिड–१९ सम्बन्धी क्रियाकलाप र अत्यावश्यकबाहेकका नगरपालिका र वडा कार्यालयहरूबाट प्रवाह भइरहेका सेवाहरू बन्द गरिएको, साप्ताहिक हाट बन्दलाई निरन्तरता दिइएको, भद्रपुरमा रहेका सङ्घीय तथा प्रदेशस्तरीय कार्यालयहरूमा देखिएको भीड नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने, उद्योग प्रतिष्ठानहरू कोभिड–१९ सम्बन्धी स्वास्थ्य मापदण्ड पूरा गरेर सञ्चालन गर्न उद्योग प्रतिष्ठानहरूलाई सचेत गराइएको पनि श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले औषधि पसल र स्वास्थ्य प्रतिष्ठानबाहेक सबै व्यापार व्यवसाय सामाजिक दूरी राखी साँझ ५ बजेसम्म सञ्चालन गर्नुपर्ने, सीमापारिबाट अवैध ढङ्गले हुने सामान ओसारपसार र मानिसको आवागमन पूर्ण रूपमा नियन्त्रण गर्न स्थानीय प्रहरी प्रशासनलाई थप सहयोग गर्ने निर्णय गरेको छ ।

यी निर्णय पालना भए नभएको बारे समितिले निरन्तर अनुगमन गर्ने र उल्लङ्घन भएको पाइए सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने पनि बैठकको निर्णयमा उल्लेख छ ।

सम्बन्धित