तपाईँ सुन्दै हुनुहुन्छः

भक्तपुर जिल्ला पनि कोरोनाको ‘हटस्पट’ बन्ने भय

फाइल तस्बिर

भक्तपुर । भक्तपुर जिल्ला पनि कोरोनाको ‘हटस्पट’ बन्ने खतरा बढ्दै गएको छ । भक्तपुरमा एकै दिन ५० जना कोरोना सङ्क्रमित थपिएका छन् । शनिवारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए अनुसार सङ्क्रमित मध्ये सशस्त्र प्रहरी बलको नुवाकोटस्थित गुह्येश्वरी गणमा कार्यरत २० जना रहेका छन् । स्रोतका अनुसार हालै ती २० जना तराईबाट सरुवा भएर आएका थिए ।

अन्य कोरोना सङ्क्रमितमा ८ जना भक्तपुर नगरपालिका, ५ जना सूर्यबिनायक नगरपालिकाका रहेका छन् । १३ जना मध्यपुर थिमि नगरपालिकाका बासिन्दा रहेका छन् ।

स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारका अनुसार सङ्क्रमित मध्ये पुरुषको सङ्ख्या ३९ र महिलाको सङ्ख्या ११ रहेको छ ।

त्यसै गरी ३ जना पुनः परीक्षण गर्दा पोजेटिभ आएका व्यक्ति हुन् । भक्तपुरमा शनिवार थप १ जनाको मृत्यु भएको हो ।

शनिवार मृत्यु भएका कोरोना सङ्क्रमित पुरुष सुर्यबिनायक नगरपालिका हुन् भने उनको ह्याम्स अस्पताल उपचारको क्रममा मृत्यु भएको हो । योसँगै भक्तपुरमा कोरोनाबाट दुई मृत्यु हुनेको सङ्ख्या २ पुगेको छ । यस्तै कुल सङ्क्रमितको सङ्ख्या २६८ पुगेको छ ।
जिल्लामा एकै दिन धेरै जनामा संक्रमण देखिएपछि निषेधाज्ञा पालनामा थप कडाई गरिने प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनुभयो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।काठमाडौंमा १६० र ललितपुरमा ६ जना सङ्क्रमित थपिएका हुन् ।

यस अघि उपत्यकाका अन्य दुई जिल्ला काठमाडौं र ललितपुरमा सङ्क्रमितको सङ्ख्या निकै उच्च भए पनि भक्तपुरमा संक्रमणको दर सामान्य रहँदै आएको थियो । तर पछिल्लो समय दैनिक सङ्क्रमितको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ ।

भक्तपुरमा पनि समुदाय स्तरमै संक्रमण फैलिसकेको निष्कर्ष स्वास्थ्य कार्यालयको छ । भक्तपुरमा गएको वैशाख ३० गते पहिलो पटक दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । ती दुवै जिल्ला बाहिरका बासिन्दा थिए ।

भक्तपुर जिल्ला पनि कोरोनाको ‘हटस्पट’ बन्ने खतरा बढ्दै गए पछि जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, ४ वटै नगरपालिका र सरोकारवाला सबै मिलेर स्थानीयलाई संक्रमण नियन्त्रणमा थप सचेत र सजग बनाउनुपर्ने आवश्यकता देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button