२०७९ साल असोज १४ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

अझै झस्किनुहुन्छ पहिरोमा पुरिएका गोवासिंह

रेडियो नेपाल २०७७ साउन ४ गते ७:५३

सङ्खुवासभा-सङ्खुवासभाको सिलिचोङ–१ सिसुवाखोला बेसिन्दामा गएको पहिरोमा पुरिएर जीवितै उद्धार गरिएका ७९ वर्षीय गोवासिंह राई अझै पनि साता दिनअघि गएको पहिरोको झझल्कोमा हुनुहुन्छ । जिल्ला अस्पताल खाँदबारीमा उपचार गरिरहेका गोवासिंह निद्रामा पनि पहिरोले लग्यो भन्दै बर्बराउनुहुन्छ ।

झपक्क निदाउन खोज्दा त्यही पहिलेको झझल्को आएपछि चिच्याउनुहुन्छ र बर्बराउन थाल्नुहुन्छ ।  पहिरो गएको दुई दिनपछि अर्थात् गत मङ्गलबार उहाँलाई पूर्व खानेपानीमन्त्री दीपक खड्का र पर्यटन व्यवसायी मिङमा शेर्पाले निजी खर्चमा हेलिकप्टर चार्टर्ड गरेर उद्धार गर्नुभएको थियो । उमेरले आठ दशक पुग्नुभएको उहाँको दुई दिनसम्म सिलिचोङ–१ को शेर्पाबस्तीमा सामान्य उपचार गरिएको थियो ।

त्यहाँ पार नलागेपछि उहाँ उद्धारको पर्खाइमा बस्नुभयो । प्रदेश नं १ सरकारले उद्धारका लागि प्रयोग गरेको सेनाको एमआई–१७ हेलिकोप्टरले दुई दिनसम्म उद्धारको प्रयास ग¥यो तर उद्धार र राहत विस्थापित राखिएको चित्रेगाउँसम्म पुग्न सकेन । स–साना डाँडाकाँडा र बाक्लो हुस्सुका कारण राहत बोकेको हेलिकप्टर अवतरण हुन नसकेको हो । पहिरोमा बाँच्न सफल भए पनि गोवासिंहले दुई दिनसम्म सामान्य उपचार मात्र पाउनुभयो ।

उहाँको अवस्था बिग्रिँदै गएपछि पहिरो गएको बेसिन्दामा उहाँलाई स्ट्रेचरबाट गाउँलेले बोकेर ल्याएका थिए । त्यसपछि खड्का र शेर्पाले लगेको निजी हेलिकप्टरमा गोवासिंह र अर्का राममाया राईलाई उद्धार गरेर जिल्ला अस्पताल खाँदबारी ल्याइएको हो ।

बाँच्नेहरुले बेपत्ता पत्ता लगाउन र भोको पेट भर्नका लागि सबैसँग हारगुहार गरिरहेका छन् । पहिरोको डरले ७९ परिवारका ३४९ जना थातथलो छाडेर चित्रे भन्ने शेर्पा गाउँ र वालाको बुधबारेमा आश्रय लिएर बसिरहेका छन् । प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यका अनुसार विस्थापितलाई राख्न ५३ अस्थायी टहरा निर्माण गरिएको छ । त्यसमध्ये २७ अस्थायी टहरामा विस्थापित परिवार बुधबारेमा बसेका छन् ।

बाँकी २५ टहरा सेनाको बराहदल गुल्मले चित्रेमा निर्माण गरेको प्रजिअ आचार्यले बताउनुभयो । त्यसैमा विस्थापितहरु ३४९ जना बस्नु पर्नेछ । प्रदेश नं १ सरकारले उपलब्ध गराएको राहत सामग्री बिहीबार मात्र पीडितलाई चित्रेबाट पाँच घण्टा हिँडाएर वालाको बुधबारेबाट वितरण गरिएको छ । सेनाको ठूलो हेलिकप्टर पहिरो प्रभावित क्षेत्रमा बस्न नसकेपछि बुधबारेमा राहत लगिएको थियो । राहत लिएर चित्रे पुग्न पीडितलाई आधा दिन लाग्छ ।

तीन जनासम्मको पीडित परिवारलाई राहतस्वरुप २५ किलो चामल, एक–एक किलो दाल, नुन र तेल वितरण गरिएको प्रजिअ आचार्यले बताउनुभयो । उहाँका अनुसार चारदेखि माथि सङ्ख्या रहेको परिवारका लागि ५० किलो चामल, दुई–दुई किलो दाल, नुन र तेल वितरण गरिएको छ । सिलिचोङको होयाङला, चेप्चेवालगायतका स्थानमा पनि पहिरो जाने डरले अस्थायीरूपमा ५९ परिवार विस्थापित भएका छन् । उनीहरुका लागि पनि राहत उपलब्ध गराइएको छ ।

घरमा खाने अन्न, लत्ताकपडा र खानेपानी नहुँदाको विलापमा रहेका उनीहरुलाई केही भए पनि राहत मिलेको छ । पहिरामा हराइरहेका ११ जनाको खोजी जारी रहे पनि अवस्था पत्ता लाग्न नसकेको प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताउनुभयो । बेपत्ताको खोजीमा खटिएका एक जनाले ज्यानसमेत गुमाएका थिए ।

विकट र भिरालो जमीन भएकाले बेपत्ताको खोजीमा अझै समस्या भइरहेको उहाँले बताउनुभयो । पहिरोमा ६५ वर्षीया गोरीमाया र २२ वर्षीया छोरी प्रकृति, राममान र उनकी श्रीमती हस्तकुमारी, छोरी एन्जिला, नम्रता राई हराइरहेका छन् । अर्का जुद्धबहादुर माने (राई) र श्रीमती उत्तरकुमारी पनि बेपत्ता छन् । नजमाया, हर्कराज, आइतमाया राई पनि बेपत्ता छन् ।

पहिराले राममान राई, जुद्धबहादुर माने, जुद्धबहादुर गैरी, नगमाया, सन्दीप, भीमबहादुर, शिवधन, गोवासिंह र हर्कधन राईको घर बगाएको थियो ।

सम्बन्धित