तपाईँ सुन्दै हुनुहुन्छः

यस्तो छ आगामी तीन दिनको मौसमी गतिविधि

काठमाडौं । मुलुकभर अहिले मनसुनी वायुको प्रभाव रहेकाले धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिणतिर रहेको छ । क्रमशः नेपाल नजिक आउने क्रममा रहेकाले आइतबार साँझदेखि भने मौसम थप सक्रिय हुने जनाइएको छ ।

विभागका अनुसार आज देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । राति भने देशभर सामान्यदेखि पूर्णबदली रहने र धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती, गण्डकी र सुदुरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । आगामी २४ घण्टामा देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ केही स्थानमा भारी वर्षा हुने भएकाले सावधानी अपनाउन अनुरोध गरिएको छ ।

साउन ४ को मौसम

आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा र प्रदेश नं १, २ का एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । त्यसदिन न्यून चापीय रेखा नेपाल नजिक आउने भएकाले मनसुन थप सक्रिय हुने जनाइएको छ । यसले विभिन्न नदीहरुको बहावसमेत बढाउने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

त्यस दिन राति देशभर पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, २, वागमती, गण्डकी, प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाइएको छ । साँझदेखि न्यून चापीय रेखा नेपाल नजिक पर्ने भएकाले वर्षा बढ्ने र बाढीपहिरोको जोखिम हुनेछ ।

साउन ५ को मौसम

सोमबार भने पूर्ण बदली रही धेरै स्थानमा वर्षाको सम्भावना छ । प्रदेश नं १, २, ५, वागमती, गण्डकी प्रदेशका केही स्थानमा र सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । राति भने देशभर पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।

साउन ४ को रातिदेखि भने वर्षा बढ्ने भएकाले नदीको सतहसमेत बढ्नसक्ने हुँदा सतर्क रहन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले अनुरोध गर्नुभएको छ ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button