२०७९ साल असोज ११ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

परराष्ट्रमन्त्री ज्ञवालीको पहलमा गुल्मीमा पीसीआर मेसिन

रेडियो नेपाल २०७७ साउन ३ गते १८:५८

गुल्मी- परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीको पहलमा गुल्मीमा कोरोना भाइरस परिक्षण गर्ने पीसीआर ल्याब स्थापना हुने भएको छ । शनिबार मन्त्री ज्ञवालीले जिल्लालाई पीसीआर मेसिन उपलब्ध गराएपछि जिल्लामा ल्याव स्थापना हुने निश्चित भएको हो ।

उक्त मेसिन हिमालय एयरलाइन्सले उपलब्ध गराएको हो । मन्त्री ज्ञवालीले आफ्नो गृह जिल्लाका लागि पीसीआर मेसीन आवस्यक रहेको जानकारी गराएपछि उहाँकै पहलमा आफूहरुले गुल्मी जिल्लाका लागि मेसिन उपलब्ध गराएको  एयरलाइन्सका उपाध्यक्ष बिजय श्रेष्ठले जानकारी दिनुभयो । उहाँले संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत आफुहरुले पिसिआर मेसिन प्रदान गरेको पनि बताउनुभयो ।

गुल्मीका स्थानीय तहहरुले समन्वय गरि पीसीआर ल्याब स्थापना गर्ने निर्णय गरेपछि मन्त्री ज्ञवालीले मेसिनका लागि पहल गरेका थिए । हिमालय एयरलाइन्सले मेसिन सहयोग गरेपछि ज्ञवाली आफै हेलिकप्टर मार्फत मेसिन लिएर शनिबार जिल्ला आइपुग्नुभएको हो ।

मेसिन प्रदान गर्दै ज्ञवालीले कोरोना भइरस संक्रमणको सबैभन्दा खराब स्थिति अझै बाँकी रहेको विज्ञहरुले बताएकोले नियन्त्रण र रोकथाथमको तयारीमा समेत तीन वटै सरकारका संयन्त्र लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सरकारले संक्रमितको संख्या बढीमा २०र२२ हजारभन्दा बढ्न नदिने गरी तयारी गरेको बताउनुभयो । कोभिड–१९ लाई नियन्त्रण गर्न राम्रो सफलता मिलेको छ, अब परीक्षणको दायरा फराकिलो पार्ने र संक्रमतिलाई निको पारेर घर पठाउने तथा नयाँ संक्रमतिको संख्यालाई शून्यमा झार्ने गरी सरकारले काम गरेको छ’ ज्ञवालीले भन्नुभयो

लकडाउनपछि भारतबाट ३ लाख नेपाली स्वदेश आएकोेमा सरकारले जारी गरेको लकडाउन, सतर्कताले संक्रमण जम्मा ७ प्रतिशतलाई मात्रै देखा परेको र मृत्युदर ० दशमलव २ प्रतिशतमात्रै रहेको उहाँले बताउनुभयो ।

देशभर ३ लाख नेपालीलाई क्वारेन्टाइनमा राखेर कोरोनालाई समुदायमा फैलिनबाट नियन्त्रणमा राखेको उहाँको दाबी छ । पीसीआर परीक्षण दक्षिण एसियामै नेपालले उत्कृष्ट गरेकाले संक्रमतिको संख्या नबढेको र मृत्युदर संख्या कमी भएको उहाँको भनाइ थियो ।

त्यस्तै फरक प्रसङ्गमा मन्त्री ज्ञवालीले भारतसँग सार्वभौम समानतासहितको सम्बन्ध चाहेको बताउनुभयो ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले ल्याब निर्माणको काम अघि बढी सकेको जानकारी दिनुभयो । उहाँले ल्याबको संरचना निर्माण गर्न भैरहवाबाट स्टिमेट गर्ने टोली मगाइएको, रेसुङ्गा नगरपालिका मार्फत प्रयोगशालाका अन्य उपकरण खरिद गर्न टेन्डर आव्हान भएकाले केही समयमै ल्याब सञ्चालन गरिने बताउनुभयो ।

उपल्लो तम्घासमा तत्कालीन महिला विकासको कार्यालयमा ल्याब सञ्चालन गर्ने निर्णय भएको शर्माले बताउनुभयो ।

गुल्मी अस्पताल तम्घासका प्रमुख डा.उत्तम पच्याले ल्याबको दैनिक खर्च, जनशक्ति र व्यवस्थापनको हिसाबले चुनौतीपूर्ण भएकाले सबै स्थानीय तहको सहयोगमा सञ्चालन गर्न सकिने बताउनुभयो ।

उहाँले आज मेसिन आएर भोलिबाट परीक्षण हुने भ्रममा नपर्न सर्बैलाई आग्रह गर्दै अन्य धेरै व्यवस्थापन बाँकी रहेको उल्लेख गर्नुभयो ।केही समय पहिलेबाट स्थानीय तहले सदरमुकाम तम्घासमा कोभिड अस्पताल र ल्याब सञ्चालन गर्न प्रयत्न गरिरहेका छन् ।

सम्बन्धित