२०७९ साल असोज १३ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

घरघरमा पुगेर बाढी पहिरोको क्षति बुझ्दै शुक्लागण्डकी नगरपालिका

किरण श्रेष्ठ २०७७ साउन ३ गते १६:०६

तनहुँ । तनहुँमा गत आइतबार राती परेको भीषण वर्षापछिको बाढी पहिरोले ठुलै मानवीय र भौतिक क्षति पुर्‍याएको छ । यसबाट अछुतो जिल्लाको शुक्लागण्डकी नगरपालिका पनि रहेन । यहाँका १२ वटै वडामा क्षति पुगेको छ ।

घर, सामुदायिक भवन, सडक, पुल, कुलो, मठमन्दिरलगायतका भौतिक संरचनामा क्षति पुर्‍याएको छ । बाढी पहिरोबाट पुगेको क्षतिको निरीक्षण गर्नलाई शुक्लागण्डकी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी घरघरमा पुग्न थालेका छन् ।

शुक्रवारदेखि नगरपालिकाको चार टोली क्षतिग्रस्त संरचनाको निरीक्षणमा प्रत्येक वडाको घरघरै पुग्न थालेको नगर प्रवक्ता खिमबहादुर कुमालले बताउनुभयो ।

पहिलो दिन नगरप्रमुख किसान गुरुङ नेतृत्वको टोलीले वडा नम्बर २, उपप्रमुख सविता रसाइलीको टोलीले वडा नम्बर ८ र ९, नगर प्रवक्ता खिमबहादुर कुमालको टोलीले वडा नम्बर ५ र प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीको टोलीले वडा नम्बर ३, ६ र ७ का विभिन्न स्थानमा पुगेर निरीक्षण गरेका छन् ।

उक्त टोलीमा सम्बन्धित वडाका प्राविधिक समेत रहेका छन् । प्राविधिकले क्षतिको तत्कालै लागत अनुमान निकाल्ने प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘क्षतिग्रस्त संरचनाको तथ्याङ्क लिने र पिडामा रहेका नागरिकलाई सान्त्वना दिने गरेका छौँ ।’

तथ्याङ्क संकलनपश्चात घर भत्किएकालाई पहिलो प्राथमिकता दिएर व्यवस्थापन गर्ने नगर प्रवक्ता कुमालले बताउनुभयो । ‘घर भत्किएकालाई तत्कालै व्यवस्थापन गर्नेछौँ । त्यसपछि उच्च जोखिममा रहेकालाई स्थानान्तरण गर्ने र पहिरोले अवरुद्ध मुख्य सडकहरू खुलाउने लगायतका काम हुनेछ’, उहाँले भन्नुभयो ।

आइतबार रातिको भीषण वर्षाको कारण जिल्लाका ११ जनाले पहिरोमा पुरिएर ज्यान गुमाए भने एक  जना अझै बेपत्ता रहेका छन् । दुई जना घाइतेको पोखरामा सरकारी खर्चमा निःशुल्क उपचार भइरहेको छ । त्यस्तै मृतकका आफन्तलाई सङ्घ, प्रदेश र स्थानीय सरकारले राहत प्रदान गरेको छ ।

सम्बन्धित