तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले मेलम्चीको थकनिमा खनाल बस्तीलगायत पुरै गाउँ उच्च जोखिममा

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–४ थकनीमा गए रातिको अविरल वर्षाका कारण पहिरो जाँदा अमलेका माधव राज खनालको घर पुरिएको छ ।

त्यस क्षेत्रका खनाल बस्ती, डाँडा कठेरी लगायतका बस्तीहरू उच्च जोखिममा परेको स्थानीय जनप्रतिनिधि कृष्ण बहादुर तामाङ ‘समीर’ले बताउनुभयो ।

अमले बस्तीका मात्रै केदारनाथ खनाल, चिरञ्जीवी खनाल, दिपेश खनाललगायत १२ घरमा पहिरोले पूर्ण रूपमा क्षति पुर्‍याएको र उक्त बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्थामा रहेको स्थानीय पहिरो पीडित दिपेश खनालले जानकारी दिनुभयो । खनालका अनुसार मानवीय क्षति नभए पनि घरमा भएका सबै सर–सामान, लत्ताकपडा सबै नोक्सान भएको छ ।

पहिरो पीडित हरूको स्थानीय जनप्रतिनिधिको सक्रियतामा सिन्धु सुरुङमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले उद्धार गरेको र उनीहरूको वैकल्पिक वासस्थानको लागि छलफल भइरहेको नेपाली काँग्रेस मेलम्ची नगर सभापति मधुसूदन सिग्देलले जानकारी दिनुभयो ।

अमले, डाँडा कठेरी लगायत मेनपा–४ का विभिन्न स्थानमा पहिरोका कारण ५०–६० घर जोखिममा परेको र तिनलाई स्थानान्तरण गर्नुपर्ने अवस्था आएको जनप्रतिनिधि समीर तामाङले बताउनुभयो ।

उहाँका अनुसार डाँडा कठेरीका बिस्थापितहरुलाई तत्कालका लागि विद्यालयमा बसोबासको प्रबन्ध मिलाइएको छ । स्थायी स्थानान्तरणका लागि सम्बन्धित निकायमा पहल गरिएको पनि तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button