तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिममा रोपाइँ समयमै सकिँदै

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशमा गत असार महिनासम्म ९१ दशमलब ५९ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । यस वर्ष रोपाइँ गर्न पुग्ने गरी वर्षा भएपछि रोपाइँ पनि समयमै सकिन लागेको क्षेत्रीय कृषि विकास निर्देशनालयले दीपायलले जनाएको छ । ‘‘पाखो जग्गामा बाहेक सवै जग्गामा धान रोपाइँ सकिएको छ, निर्देशक यज्ञराज जोशीले भन्नु भयो, समयमै वर्षा हुँदा रोपाइँ गर्न पनि किसानलाई सहज भएको छ ।‘‘

प्रदेशमा गतजेठदेखि असार महिनासम्म अन्य प्रदेशको तुलनामा कम वर्षा भएको छ । निर्देशनालयका अनुसार गत असार २८गतेसम्म प्रदेशको तराईको जिल्ला कैलालीमा रोपाइँ गरिने जग्गामध्ये ९३ दशमलब पाँच र कञ्चनपुरमा ९६ दशमलब पाँच प्रतिशत जग्गामा रोपाइँ सम्पन्न भएको छ । यसैगरी पहाडी जिल्ला डोटीमा ८२, अछाममा ८५, बाजुरामा ८०, बझाङमा ८५, बैतडीमा ९०, दार्चुलामा ८८ र डडेलधुरामा ९० प्रतिशत क्षेत्रफल जग्गामा धान रोपाइँ सम्पन्न भएको छ ।

प्रदेशममा एक लाख ८१ हजार ६०४ हेक्टर क्षेत्रफलको जग्गामा धान रोपाइँ गर्ने गरिएको छ । सबैभन्दा बढी कैलालीमा ७१ हजार ७०० हेक्टर र कञ्चनपुरमा ४७ हजार ५०० हेक्टर जग्गामा धान रोपाइँ हुने गरेको छ । पहाडी क्षेत्रका बाँकी सात जिल्लामा ६२ हजार ४०४ हेक्टरमा रोपाइँ हुने गरेको छ । कोभिड—१९का कारण विदेशवाट घर फर्किनेहरु बढ्दा पहाडी जिल्लामा यस वर्ष रोपाइँ गर्न जनशक्तिको अभाव नभएको कृषि मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

पुग्नेगरी वर्षा भएको र लकडाउनका कारण परिवारका सबै सदस्यले घरमै बस्नु पर्दा रोपाइँ गर्न पनि सहज भएको धनगढी उपमहानगरपालिका—१३का मोहनराज पाण्डेयले बताउनुभयो । गत वर्ष असार महिनासम्म प्रदेशमा ६८ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको थियो । प्रदेशमा अधिकांश क्षेत्रफलको जग्गामा आकासे पानीको भरमा रोपाइँ हुने गरेको छ । प्रदेशमा ७३ हजार ६१७ हेक्टर जग्गामा वर्ष भरी सिँचाई हुने गरेकोमा ३६ हजार ४८३ हेक्टर जग्गामा आंशिक सिँचाइको सुविधा रहेको तथ्याङ्क क्षेत्रीय कृषि विकास निर्देशनालयसँग छ ।

यसै बीच रोपाइँ गरिएको खेतमा रसायनिक मल युरिया छर्ने समय भइसकेको भएपनि मलको अभाव हुँदा समस्या भएको कृषकले बताएका छन् । सीमा नाकावाट विगतका वर्षमा भारतवाट भित्रिने रसायनिक मल यस वर्ष भित्रिन नपाएको कारण माग पनि बढ्न गई अभाव देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button