तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकार रिजालको एकान्तवास बजारमा

चितवन। चितवनका पत्रकार विनोदबाबु रिजालले लेखेको पुस्तक ‘एकान्तवास’ बजारमा आएको छ । कोभिड–१९ महामारीको कारण गरिएको विश्वव्यापी लकडाउनका बेला भोगेका, देखेका र सुनेका विविध सन्दर्भ समेटेर लेखिएको डायरी एकान्तवास हो । यसलाई ‘लकडाउन डायरी’ पनि भनिएको छ ।

“मेरो मात्रै होइन, हामी सबैका अनुभूतिको प्रतिविम्ब समेटेको छु”, लेखक रिजालले भन्नुभयो, “कोरोना भाइरस र यसले निम्त्याएको लकडाउन हाम्रो जीवनकालमा भोगेका सबैभन्दा अविष्मरणीय घटना हो, यसलाई कसैले पनि भुल्न सक्दैन ।” किताबमा २०७६ चैत ११ देखि २०७७ जेठ ३२ सम्म गरिएको कठिन लकडाउनका सन्दर्भ समेटिएको साहित्यकार बालकृष्ण थपलियाले बताउनुभयो । हरेक दिनका घटना र गतिविधिका टिपोटलाई उहाँले निबन्धात्मक रूप दिनुभएको छ । हरेक सन्दर्भलाई उहाँले व्याख्या गरी यसका कारण र परिणामको चर्चा गर्नुभएको थपलियाले बताउनुभयो । लकडाउनको तत्कालीन समयका आर्थिक, राजनीतिक, सामाजिक विषयवस्तुलाई समेत उल्लेख गर्दै आफ्ना अनुभूति दैनिकीमा समेटिएको थपलियाको भनाइ छ ।

विसं २०६१ बाट पत्रकारिता थाल्नुभएका रिजाल कायाकैरन दैनिकमा सम्पादक हुनुहुन्छ । स्थानीय रेडियो, टेलिभिजनमा पनि समाचार प्रमुख भएर काम गर्नुभएका उहाँले राष्ट्रिय मिडियामा पनि लामो समय काम गरिसक्नुभएको छ । युरेका पब्लिकेसनले प्रकाशन गरेको पुस्तक नारायणगढको सम्पूर्ण किताबले बजारमा उपलब्ध गराइरहेको छ ।

तीन सय पृष्ठको किताबको मूल्य रु ३७५ राखिएको युरेका पब्लिकेसन तथा सम्पूर्ण किताबका लेखराम सापकोटाले बताउनुभयो । पत्रकार महासङ्घ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले पत्रकारलाई लेखन क्षेत्रमा प्रोत्साहित गर्नुपर्ने भन्दै आफूले पुस्तक छापिनुअघिनै किताबको मूल्य भुक्तानी गरेर अग्रिम बुकिङ गरेको बताउनुभयो । उहाँले भन्नुभयो “किताब किनेर पढीदिन सबैमा अनुरोध गर्छु ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button