तपाईँ सुन्दै हुनुहुन्छः

करोडौ ठगेर फरार अग्रवाल पक्राउ

वीरगञ्ज । बारा, पर्साका उद्योगी व्यवसायीहरुको करोडौ रुपैयाँ ठगेर फरार भएका झापाका मनिष अग्रवाल भन्ने चन्दन जिन्दललाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बारामा बैंकिङ कसुरमा उजुरी परेपछि उच्च अदालत जनकपुरको अस्थायी इजलाश वीरगन्जले अग्रवाल उपर पक्राउ पुर्जी जारी गरेको थियो ।

झापाको दमक नगरपालिका वडा नम्बर ७ का मनिष अग्रवालको नामबाट चिनिने चन्दन जिन्दललाई प्रहरीले भक्तपुरको गठ्ठाघरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो ।

अग्रवालले बारा, पर्सा, सर्लाही, झापाका विभिन्न २२ जना व्यक्तिहरुबाट ७ करोड ८१ लाख ४२ हजार रुपैयाँ बराबरको ठगी तथा बैंकिङ कसुर गरेको खुल्न आएको प्रहरी उपरिक्षक कार्कीले बताउनुभयो ।

अग्रवालले बारा, पर्साका विभिन्न खाद्यान्न व्यापारीहरुलाई विश्वासमा लिई उधारोमा खाद्यान्न किनेर काठमाडौंका व्यापारीहरुलाई खरिद मूल्यभन्दा पनि सस्तोमा नगदमा बिक्री गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ ।

पक्राउ परेका अग्रवाललाई थप कारवाहीका लागि आजै जिल्ला प्रहरी कार्यालय बारामा पठाईएको प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button