तपाईँ सुन्दै हुनुहुन्छः

पाटन नयाँ सहर बनाउने योजना अलपत्र

सीपी लोहिया, बैतडी । सरकारले २०६८ सालमा मध्यपहाडी लोकमार्ग अन्तर्गत दशओटा शहरलाई नमूना शहरको रुपमा विकसित गर्ने निर्णय बमोजीम घोषणा गरेको बैतडी पाटन नमूना शहर अलपत्र परेको छ । पाटन नयाँ शहर घोषणा भएको एक दशक पुग्नै लाग्दा समेत नमूना शहरको काम भने अघि बढ्न सकेको छैन् ।

करीब २ लाख मानिसको बसोबास गराउने, आधुनिक शहरका सुविधा सहित व्यवस्थित शहर बनाउने योजना पनि सार्वजनिक भएको थियो । नमूना शहर बनाउने घोषणा भएको ९ बर्ष बितिसक्दा समेत यो शहरमा विकास निर्माणका कामले खासै गति लिन नसकेकोमा स्थानीयबासी दुखित भएका छन् ।

दशौं नमूना शहरको रुपमा विकसित गर्ने सरकारले घोषणा गरेको भएपनि नयाँ शहरको काम अघि नै नबढेको पाटनका स्थानीय चमनकुमार भण्डारीले बताउनुभयो । सुविधा सम्पन्न अस्पताल, खानेपानी, विद्युत लगायतका आधारभूत विकासका कुराहरु अघि बढ्ने आसा भएपनि नमूना शहरको काम अघि नबढ्दा निराशा छाएको स्थानिय कमल बोहराले बताउनुभयो ।

नयाँ शहर बनाउने घोषणा भएको भएपनि यसको कामलाई अघि बढाउनका लागि बजेट पनि थोरै आउने गरेको पाटन नयाँ शहर आयोजनाका प्रमुख अजय आचार्यले बताउनुभयो । पाटन नयाँ शहरमा जग्गा प्लटिङमा समेत समस्या आएको छ । पाटन नयाँ सहर आयोजना अन्तर्गत डोबरा, भट्टाड लगायतको ठाउँमा जग्गा एकीकरण गरी बस्ती विकासका कामलाई अघि बढाउने योजना छ ।

सरकारले जग्गा एकीकरण सडक निर्माण लगायतका काम गर्ने भएकाले मासिएको जमीनको क्षतिपूर्ती दिने प्रावधान छैन् । तर स्थानीयबासी भने घुमाउरो भाषामा क्षतिपूर्तीको माग गरिरहेका छन् ।

जग्गा प्लटिङको काम अघि नबढ्दा नयाँ शहरको काम अघि बढ्न सकेको छैन् । पाटन नयाँ शहर अन्तर्गतका रिंगरोड, कर्भड हल निर्माण, बसपार्क निर्माण, ढल निकासका कामहरु अझै सम्पन्न हुन सकेका छैनन् ।

२०७२ सालमा ठेक्का सम्झौता भएको आधुनिक बसपार्क निर्माणको काम पनि अलपत्र परेको छ । पी एस कन्सट्रक्सनले ठेक्का सम्झौता गरेर निर्माण गरिरहेको बसपार्कलाई सम्पन्न गर्न १० प्रतिशत हर्जना लिएर फेरी म्याद थप गरिएको छ ।

पाटन बजार क्षेत्रको फोहर व्यवस्थापन गर्नका लागि ल्याण्डफील साइड निर्माणको काम शुरु भएको ३ वर्ष भएको भएपनि त्यो पनि पूरा हुन सकेको छैन् । कडा चट्टानका कारण ल्याण्डफील साइड सम्म पुग्ने बाटो निर्माणमै समस्या भएको पाटन नयाँ शहर आयोजनाका प्रमुख आचार्यले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button