तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा फरार अभियुक्त धमाधम पक्राउ पर्दै

तनहुँ । विभिन्न मुद्दामा सजाय भुक्तान नगरी फरार रहेका अभियुक्तहरूलाई तनहुँ प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । बिहीबार जिल्ला प्रहरी कार्यालय तनहुँले चोरी मुद्दामा फरार रहेका र नक्कली परीक्षार्थीको मुद्दामा सजाय तोकिएका गरी दुई व्यक्तिलाई पक्राउ गरेको छ ।

१७ वर्ष अघि चोरी मुद्दामा जिल्ला अदालतबाट १० महिना नौ दिन कैद भुक्तानका लागि सजाय तोकिएका रामबहादुर परियारलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ ।

म्याग्दे गाउँपालिका १ बरभञ्ज्याङ्गका ३८ वर्षीय परियारलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक युवराज तिमल्सेनाले जानकारी दिनुभयो ।

यस्तै ७ वर्ष अघि अर्काको नाममा परीक्षा दिएको अभियोग लागेको झापाको कनकाई नगरपालिका–३ सुरुङ्गाका जितेन्द्र कुमार शर्मालाई पनि प्रहरी पक्राउ गरेको छ ।

तनहुँको भानु नगरपालिका–१ भन्सारमा बस्दै आएको ३० वर्षीय शर्मालाई सोही स्थानमा लुकेर बस्दै आएको जानकारी प्राप्त हुनासाथ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शर्माले ४० हजार रुपैयाँ जरिवाना तोकिएता पनि उनी फरार हुँदै आएकाले अदालत पुर्‍याइएको तिमल्सेनाले जनकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button