तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा एक लाख पचास हजार जडीबुटीका बिरुवा निःशुल्क वितरण

सल्यान । वनस्पति अनुसन्धान केन्द्र सल्यानले एक लाख ५० हजार बढी निःशुल्क जडीबुटीका बिरुवा वितरण गरेको छ ।

जिल्लाका विभिन्न सामुदायिक वन, विभिन्न सङ्घ संस्था र व्यक्तिलाई निःशुल्क जडीबुटीका बिरुवा वितरण गरिएको वनस्पति अनुसन्धान केन्द्र मुलपानी सल्यानले जनाएको छ ।

कार्यालयका अनुसार टिमुर ५० हजार, काउलो ५० हजार, तेजपात ३० हजार, रिट्ठा दुई हजार, लप्सी तीन हजार, चिउरी दुई हजार, कुरिलो पाँच हजार, रोजमेरी पाँच हजार, सुगन्दगन्धा पाँच हजार, सुन्तला, कागती लगायतका बिरुवा पाँच हजार गरी झन्डै एक लाख ५० हजार बढीको बिरुवा वितरण गरिएको केन्द्रका कृष्ण पुनले बताउनुभयो । सल्यानमा जडीबुटी खेतीको प्रचुर सम्भावना भएकाले जडीबुटीका बिरुवा वितरण गरिएको उहाँको भनाई छ ।

जिल्लाबाट वार्षिक टिमुर, तेजपात, काउलो करोडाँैंमा जाने गरेको बताउँदै यसको विस्तार गर्न निःशुल्क वितरण गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आय आर्जन मूलक बिरुवाहरू वितरण गर्दै आइरहेका छौँ । जैविक विविधताको संरक्षण पनि हुने आम्दानी पनि हुने बिरुवाहरू वितरण गर्दै आइरहेका छौँ ।’

सल्यानका विभिन्न सामुदायिक वनसँगै रोल्पा, रुकुम, दाङसम्म वितरण गरिएको उहाँको भनाई छ । वनस्पति अनुसन्धान केन्द्रले विभिन्न प्रजातिका पाँच सय बढी जडीबुटी तथा बिरुवाहरूको संरक्षण एवं अनुसन्धान गर्दै आइरहेको छ ।

जिल्लाको हावापानीकाको अवस्थाका आधारमा वनस्पतिहरूको व्यावसायिक खेतीका लागि सहयोग गर्दै आएको उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button