तपाईँ सुन्दै हुनुहुन्छः

नदीमा पुल नभएपछि जोखिमपूर्ण यात्रा

मुगु ।

मुगु । छायाँनाथ रारा नगरपालिका वडा नं २ अल्का साँघुमा हालसम्म पुल नबन्दा सदरमुकाम गमगढी आवत जावतमा कठिनाइ भएको छ ।
गत वर्ष बर्षादको समयमा त्यहाँ रहेको काठे पुल बाढीले बगाएर लगेपछि स्थानीय बासिन्दा लगायत मुगुम् कार्मारोङ् गाउँपालिका भित्रका जनताहरूलाई मुगुको सदरमुकाम गमगढी आवत जावतमा कठिनाइ भएको हो ।

पुल नहुँदा वर्षाको समयमा खोला बढेसँगै साना बालबालिका महिला तथा बृद्घ व्यक्तिलाई सानो काठको लठ्याङ्ग्रोको सहायताले नदी पार गर्न समस्या हुने गरेको स्थानीय बासिन्दाहरुले बताए ।

गतबर्ष गमगाडमा ठुलो बाढी आउँदा स्थानीय बासिन्दाहरूको घरका साथै खेत घट्ट र दर्जनौँ काठे पुल बगाएको थियो । त्यतिखेर बगाएको काठे पुल भएको स्थान अल्का साँघुमा हालसम्म पुल बनाउनेतर्फ कसैले चासो नदिएको छायाँनाथ रारा नगरपालिका वडा नं १० का स्थानीय बासिन्दा अंकबहादुर बुढाले गुनासो गर्नुभयो ।

करान भेगबाट मुगुको सदरमुकाम गमगढी जाने मूल बाटो पनि त्यही स्थानमा पर्ने भएकाले पनि दिन भर मानिस आवत जावत बढी नै हुने गर्दछ । विगतका वर्षहरूमा धेरै पटक काठे पुलको लागि लाखौँ रुपियाँ खर्च भए पनि त्यसको स्थायित्व नहुँदा बर्षेनी स्थानीय बासिन्दाहरूले खोला तर्ने समस्या झेल्दै आएका छन् ।

गमगढी नाक्चेलाब्ना सडक पनि त्यतै पर्ने भएकाले पनि उक्त स्थानमा फलामे मोटरेवल पुलको आवश्यकता रहेको स्थानीय बासी बताउँछन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button