तपाईँ सुन्दै हुनुहुन्छः

कृषि ज्ञान केन्द्र पर्वतको प्रगती ९० प्रतिशत

पर्वत । कृषि ज्ञान केन्द्र पर्वतले चालु आर्थिक वर्ष २०७६÷७७ मा ९० प्रतिशत प्रगती हासिल गरेको विवरण सार्वजनिक गरेको छ । पर्वत र बागलुङ जिल्ला कार्यक्षेत्र रहेको ज्ञान केन्द्रले चालु वर्ष संघीय र प्रदेश सरकारबाट प्राप्त कुल बजेट २५ करोड ७२ लाख ८४ हजार मध्ये २२ करोड ९९ लाख २ हजार ७ सय ४८ रुपैयाँ खर्च भएको जानकारी दिएको छ ।

चालु वर्षका कार्यक्रम, बजेट खर्चको स्थीति, प्रगती, चूनौती र आगामी वर्षका रणनीतिका सन्दर्भमा बुधबार कार्यालयले सार्वजनिक सुनुवाई गर्दै खर्च विवरण सहित बर्ष भरिका गतिविधिका बारेमा अवगत गराएको हो । कार्यालय प्रमुख बासुदेव रेग्मीले प्रदेश सरकार तर्फ प्राप्त कुल ५ करोड ८२ लाख ५८ हजार बजेट मध्ये ५ करोड १७ लाख ६३ हजार ७ सय ८० खर्च भई ८८ दशमलब ८५ प्रतिशत प्रगति देखिएको र संघीय सरकारबाट प्राप्त कुल बजेट रु १९ करोड ९० लाख २६ हजार मध्ये १७ करोड ८१ लाख ३८ हजार ९ सय ६८ खर्च भई ८९.५० प्रतिशत प्रगति देखिएको जानकारी दिनुभयो ।

रेग्मीका अनुसार चालु वर्ष लक्ष्य भन्दा बढि व्यवसायिक फर्म बिस्तार भएका छन् । कार्यालयले ३० वटा मोडल फर्म स्थापना गर्ने लक्ष्य राखेकोमा ६० वटा स्थापना गर्न सफल भएको छ । साना आधुनिक सिँचाई बिस्तार ४० वटाको लक्ष्य रहेकोमा ६७ भएका छन् भने ग्रीन हाउस निर्माण १० वटाको लक्ष्य रहेकोमा १९ वटा स्थापना भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको अनुदान १०५ जना लाई वितरण गर्ने लक्ष्य रहेकोमा १२४ लाई वितरण गरेको कार्यालयले प्रगतिमा समेटेको छ ।

साना कृषि मोडेल फर्म अन्तरगत ९३ दशमलब ३५ प्रतिशत, ग्रीनहाउस निर्माण तथा यन्त्रीकरण सहयोग कार्यक्रममा ८९ दशमलब ७३ प्रतिशत, प्रांगारिक खेती प्रर्वद्धन कार्यक्रम तर्फ ९० दशमलब १० प्रतिशत, साना सिँचाई कार्यक्रम तर्फ ९० दशमलब ३८ प्रतिशत र प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम तर्फ ८८ दशमलब ५६ प्रतिशत प्रगति भएको कार्यालयले जनाएको छ ।
प्रदेश सरकारको सहकार्यमा ज्ञान केन्द्रले मूख्यमन्त्री वातवरणमैत्री कृषि नमूना गाउँ स्थापना , मोडल फर्म स्थापना, प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजनाको बिस्तार, प्रागांरिक बाली संरक्षण कार्यक्रम, रैथाने बाली संरक्षण , ढोरपाटनमा स्याउ खेती बिस्तार, मूख्यसाना तथा आधुनिक फर्म स्थापना, बगँैचा सुधार, ग्रीन हाउस निर्माण लगायतका कार्यक्रम सञ्चालन भएको कृषि प्रचार अधिकृत रामकृष्ण अर्यालले बताउनुभयो ।

कृषिको व्यवसायीकरण संगै कोरोनाको प्रभावका कारण बिदेशबाट फर्किएका यूवालाई कृषि कर्ममा आकर्षित गर्न कार्यालयले आगामी वर्ष नयाँ कार्यक्रम थप्ने तयारी गरेको पनि अर्यालले बताउनुभयो । सरोकारवालाहरुले कार्यालयका कार्यक्रम प्रभावकारी रुपमा चलेको बताएका छन् । उनीहरुले कृषिको व्यवसायिकरणमा जोड दिए । स्थानीय तह र कृषि ज्ञान केन्द्रका बिचमा कार्यक्रम कार्यान्वयन गर्दा समन्वय नहुने गरेको समेत गुनासो सहभागीले गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button