२०७९ साल असोज १९ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले पुरिएर ज्यान गुमाएकाको परिवारलाई सरकारको तर्फबाट राहत

किरण श्रेष्ठ २०७७ असार ३१ गते १८:५७

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–८ भैँसीकिलेमा पहिरोले पुरिएर ज्यान गुमाएकाहरुका परिवारलाई राहत रकम वितरण गरिएको छ । सोमबार पहिरोले पुरिएर ज्यान गुमाएकाको परिवारलाई जिल्ला प्रशासन कार्यालय तनहुँले राहत रकम वितरण गरेको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले जानकारी दिनुभयो ।

भैँसीकिलेका एकै परिवारका ५ जनाको पहिरोले पुरिएर मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले जनही एक लाखका दरले पाँच लाख मंगलबार मृतकका परिवारलाई हस्तान्तरण गरेको हो ।

आइतबार रातिदेखिको अविरल वर्षाका कारण गएको पहिरोले पुरिएर भैँसीकिलेका आमबहादुर थापाका छोरा ३० वर्षीय भेषबहादुर थापा, बुहारी २९ वर्षीया नानुमाया थापा, नातिनी ५ वर्षीया छोरी अमिषा थापा, अर्का छोरा २२ वर्षीय महादेव थापा र बुहारी १९ वर्षीया मनिसरा थापाको मृत्यु भएको थियो ।

प्राकृतिक प्रकोपबाट मृत्यु हुनेलाई एक लाख प्रदान गर्ने सरकारको नीतिबमोजिम पाँच जनाको ५ लाख रुपैयाँ गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले मृतकहरुका बुबा आमबहादुर थापालाई हस्तान्तरण गर्नुभएको थियो । सो क्रममा मन्त्री गुरुङले जनताको दुःखमा सरकार साथमा रहेकाले केही राहत रकम उपलब्ध गराइएको बताउनुभयो ।

रकम संगै पिडित परिवारलाई खाद्यान्न, त्रिपाल, कम्मल, पकाउने खाने भाडाहरु लगाएतका सामाग्री समेत वितरण गरेको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो ’पहिरोमा परेर घाइते भएकाको पोखरामा निशुल्क उपचार भईरहेको छ ।’

जिल्लामा अहिलेसम्म पहिरोमा पुरिएर ११ जनाले ज्यान गुमाइसकेको र अझै १ जना बेपत्ता रहेको प्रजिअ अधिकारीले बताउनुभयो । स्थानिय संगै नेपाली सेना, प्रहरी र एक्साभेटर समेत प्रयोग गरेर बेपत्ताको खोजी कार्य भईरहेको प्रजिअ अधिकारीले जानकारी दिनुभयो ।

’पहिरोमा पुरिएर बेपत्ता भएका व्यास नगरपालिका–९ का एक जनाको खोजी हुदैछ ।’ प्रजिअ अधिकारीले भन्नुभयो ’उक्त व्यक्ति भेटिने बित्तिकै व्यासका मृतकको परिवारलाई तत्काल रहात वितरण गर्नेछौ ।’

गण्डकी प्रदेश सरकारबाट पनि जनही ५० हजार रुपैयाका दरले मृतकका आफन्तलाई छिट्टै वितरण गरिने प्रजिअ अधिकारीले जानकारी दिनुभयो ।

ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले गाउँपालिकाका तर्फबाट सोमबार नै एक लाख रुपैयाँ राहत रकम उपलब्ध गराइसकेको बताउनुभयो । जनताको दुःखमा मलम लगाउन राहतस्वरुप उक्त रकम प्रदान गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । अन्य सहयोगका लागि गाउँपालिका तयार रहेको समेत उहाँले जानकारी दिनुभयो ।

पहिरोमा पुरिएर ज्यान गुमाउने ११ जना

पहिरोमा परी १२ जना हराएका मध्ये ११ जनाको शव पहिरोबाट निकाली सकिएको र एक जना बेपत्ताको खोजी भईरहेको छ । तनहुँको ऋषिङ गाउँपालिकाका एकै परिवारका ५ जना, व्यास नगरपालिकाका ५ जना र म्याग्दे गाउँपालिकाका १ जना गरि अहिलेसम्म कुल ११ जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ ।

पहिरोमा ज्यान गुमाउनेहरुमा तनहुँको ऋषिङ गाउँपालिका–८ पल्ट्याङस्थित भैसीकिलेमा राती १ बजे घरमाथि रहेको सडकबाट खसेको पहिरोले आम बहादुर थापाको घर बगाउदा पहिरोमा पुरिएर थापाका दुई छोरा, दुई बुहारी र एक नातिनीको मृत्यु भएको हो । आम बहादुर थापाका साहिँला छोरा ३० वर्षीय भेषबहादुर थापा, २७ वर्षिया बुहारी नानुमाया थापा, ६ वर्षिया नातिनी छोरी अमिषा थापा, कान्छा छोरा २२ वर्षीय महादेव थापा र कान्छी बुहारी १९ वर्षिया मनिसरा थापाको मृत्यु भएको हो ।

त्यस्तै व्यास नगरपालिका–९ माझफाँटमा पहिरोले पुरिएर एकै परिवारका ३ जनाको मृत्यु भएको छ । स्थानीय केशरबहादुर थापाको घर पहिरोले पुरिँदा उनकी श्रीमती ४० वर्षीया कमला, छोरा २४ वर्षीय मनोज थापा र बुहारी २१ वर्षीया अन्जना थापाको मृत्यु भएको हो । त्यस्तै व्यास नगरपालिका–९ माझफाँटमै पहिरोले पुरिएर ७० वर्षीया मैतकुमारी घर्तीको पनि मृत्यु भएको छ । त्यसैगरी व्यास–११ ओडारेका ५२ वर्षीय पदम बहादुर भुजेल(चेपाङ)को पनि पहिरोमा पुरिएर मृत्यु भएको छ ।

त्यस्तै म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडाकी १५ वर्षीया लक्ष्मी विकको पनि पहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

एक जना अझै बेपत्ता

पहिरोमा पुरिएर व्यास–९ माझँफाटका एक जना अझै बेपत्ता रहेका छ्न । माझँफाटमा २० वर्षीय राजेश थापा लाई अझै भेटाउन सकिएको छैन । सोमबार र मंगलबार स्थानिय, प्रहरी, सेना र एक्साभेटर प्रयोग गरेर खोजि गर्दा समेत भेटाउन नसकिएको व्यास–९ का वडाअध्यक्ष सुरेश थापाले जानकारी दिनुभयो । दुई दिन लगातार खोजी गर्दा समेत भेटाउन सकिएको छैन । राजेशको खोजी कार्य जारी राख्ने वडाअध्यक्ष थापाले बताउनुभयो ।

२ जना घाइतेको पोखरामा उपचार हुँदै

पहिरोमा परे घाइते भएका जिल्लाको ऋषिङ गाउँपालिकाका १ जना महिला र व्यास नगरपालिकाका १ जना पुरुषको पोखरा उपचार भईरहेको छ ।

घाइते हुनेमा ऋषिङ गाउँपालिका–८ पल्ट्याङस्थित भैसीकिलेकी ५८ वर्षिया ज्योती थापा हुन् । थापाको हात भाँचिएको र पोखरा स्थित गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ । त्यस्तै अर्का घाइते व्यास–९ माझँफाटका ५० वर्षीय केशरबहादुर थापाको खुट्टा भाचिएको र उनको उपचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भईरहेको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले जानकारी दिनुभयो ।

सम्बन्धित