२०७९ साल असोज ११ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

गाउँपालिकामा आक्रमण गर्ने १३ जना पक्राउ

पूर्णप्रसाद न्यौपाने २०७७ असार ३१ गते १७:१६

ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिकामा तोडफोड गर्ने र गाउँपालिकाका अध्यक्ष सहितका जनप्रतिनिधि र कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोपमा १३ जना पक्राउ परेका छन् ।

गाउँपालिका अध्यक्ष गोविन्दबहादुर पौडेललगायत जनप्रतिनिधि र कर्मचारीलाई कार्यलय समयमा कार्यालयमै आएर हातपात समेत गरेको आरोपमा पक्राउ पर्नेहरु सोही गाउँपालिका वडा नं ४ का १३ जना पुरुषहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा लिखु गाउँपालिका वडा नं ४ का ३१ वर्षीय दीपक बस्नेत, ३२ वर्षीया भारती मगर, २२ वर्षीया निर्मला थापा, २२ वर्षीया दीपक थापा, २२ वर्षीय दीपेन्द्र खड्का, २० वर्षीय विश्वास खत्री, २७ वर्षीय पारस खड्का, २७ वर्षीय अरुण कार्की, ३० वर्षीय दलबहादुर थापा, २७ वर्षीय निलबहादुर कार्की, २० वर्षीय राजु कार्की, २४ वर्षीय लक्ष्मण कार्की र २१ वर्षीय दीपराज खड्का छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले उनीहरुलाई पक्राउ गरी ओखलढुंगा सदरमुकाम ल्याएको छ ।

प्राप्त उजुरीका आधारमा प्रहरीले आरोपितहरुलाई पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपेश खड्काले बताउनुभयो । ‘घटनाका विषयमा उजुरी आएपछि हामीले १३ जनालाई पक्राउ गरेर जिल्ला ल्याएका छौं ।’ खड्काले भन्नुभयो, ‘१० दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिसकिएको छ ।’ बुधबार म्याद थप गरिएपछि उनीहरुलाई हिरासतमा राखिएको छ ।

गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीमाथि हातपात गरेको, गाउँपालिकाको प्रशासनिक भवन तोडफोड गरेको, भौतिक संरचनामा क्षति गरेकोसहितका विषय उल्लेख गरेर छानविनको माग गर्दै लिखु गाउँपालिकाले अमानवीय एवम् गैरजिम्मेवार कार्य गर्ने विरुद्ध कानुन अनुसार अघि बढ्ने निर्णय गरेको थियो । सो निर्णयका आधारमा गाउँ कार्यपालिका सदस्य मावर सुनुवारले प्रहरीमा उजुरी दिनुभएको हो ।

गएको असार ११ गते भएको लिखु गाउँपालिकाको एम्बुलेन्स दुर्घटनाको विषय र स्वास्थ्य चौकी स्तरोन्नतिको विषयमा विवाद बढेको थियो । सोही लगत्तै स्थानीयले गाउँपालिकामा तोडफोड गरेका थिए ।

सम्बन्धित