२०७९ साल असोज १९ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

दयामायाको पानीको भरमा कैदीबन्दी

रेडियो नेपाल २०७७ असार ३१ गते ९:०९

महोत्तरी-महोत्तरी कारागारका कैदीबन्दी (बन्दी न्यायिक निकायले पुर्पक्ष थुनामा राख्न आदेश गरेका थुनुवा) अघाउँजी पानी पिउन नपाएर बिचल्लीमा परेका छन् । जलेश्वर नगरपालिका–२ स्थित महोत्तरी कारागारभित्रका चापाकल पछिल्लो छ दिनको अविरल वर्षासँगैको बाढी पसेर डुबेपछि कैदीबन्दीलाई खानेपानीको समस्या परेको हो । कारागारमा रहेको चापाकलको ह्याण्डिल कैदीबन्दी कक्षभित्र जमेको पानीले डुबेपछि खानेपानीको हाहाकार मच्चिएको हो ।

गत बुधबारदेखि सोमबार बिहानसम्मको लगातारको वर्षासँगै बगेर आउने पानी कारागारभित्र तीन फिट जमेको छ । जमेको फोहर पानीको निकास नहुँदा आपूmहरु बिचल्लीमा परेको कैदीबन्दीको गुनासो छ ।

रेडक्रस महोत्तरी शाखाले सोमबार उपलब्ध गराएको २०० बोतल पानीले घाँटी भिजाइरहेको कैदीबन्दीको भनाइ छ । अहिले बाहिरबाट दाताहरुले ल्याइदिने पानी नै आपूmहरुको घाँटी भिजाउने सहारा भएको कैदीबन्दी बताउँछन् । सोमबार मध्याह्नपछि पानी थामिएर घाम लाग्न थालेपछि कारागारभित्र पानीको सतह घट्दै गए पनि पानी अझै सुकेको छैन । यद्यपि अब कारागारभित्रका चापाकल चालु गरिने गरी काम भइरहेको कारागार प्रशासनले जनाएको छ । कारागारभित्र पसेको शहरको फोहरपानीले कैदीबन्दीमा फोहर खटिरा उछ्रेको, लुतोले सताएको र अन्य छालाजन्य रोग बढेको छ ।

फोहर पानीले भिज्दा कारागारका १५० भन्दा बढी कैदीबन्दी ज्वरो–खोकीले थलिँदै गएको कारागारका निमित्त प्रमुख (जेलर) मक्सुधन महासेठले नै स्वीकार गर्नुभयो । विसं १९१३ मा तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले निर्माण गराएका १३५ कैदीबन्दी राख्ने क्षमताको कारागारमा अहिले पुरुषकक्षमा ४९५ र महिलाकक्षमा चार आश्रित बालबालिका (आमासँगै आएका पाँच वर्षमुनिका बालबालिका) सहित ५० गरी ५४५ कैदीबन्दी छन् । सधैँजसो न्यायिक निकायले कैदी र बन्दी (थुनुवा) पठाइरहँदा बसाइ व्यवस्थापन अत्यन्त कठिन बनेको कारागारका निमित्त प्रमुख महासेठ बताउनुहुन्छ ।

कैदीथुनुवा थपिँदै जाने र बसाइ व्यवस्थापन मिलाउन नसक्दा अब आफँैलाई उनीहरुको अस्तव्यस्त बसाइ हेरेर अपराधबोध हुने गरेको महासेठ बताउनुहुन्छ । धनुषा जिल्लामा कारागार नहुँदा यहाँ कैदी थुनुवाको चाप बढेको छ । कूल सङ्ख्यामध्ये ६५ प्रतिशतभन्दा बढी धनुषाकै न्यायिक निकायले पठाएका कैदी÷थुनुवाले कारागार खचाखच भरिएको महासेठको भनाइ छ । खासमा न्यायिक निकायले मुद्दाको छिनोफानो (फैसला) चाँडै नगर्दा पनि चाप बढेको कारागार प्रशासनको ठम्याइ छ । कारागारमा अहिले कैदी (फैसला भएर सजाय भुक्तान गरिरहेका) ३० प्रतिशतभन्दा पनि कम रहेका छन् ।

यता थुनुवा (मुद्दा किनारा नहुञ्जेल पुर्पक्ष थुनामा राख्न आदेश गरिएका) ७० प्रतिशतभन्दा बढी रहेका महासेठको भनाइ छ । कुनै पनि मुद्दा दुई वर्षभित्र किनारा लागिसक्नुपर्ने कानूनी व्यवस्था भए पनि कारागारमा पाँच वर्षभन्दा बढी समयदेखि थुनुवामा रहेका पनि छन् । कारागारमा बर्सेनि बाढीको समस्या खेपिँदै आइए पनि यसको सुधार र मर्र्मतसम्भारमा सरकारले ध्यान नदिएको लामो समयदेखि कारागारमा बस्दै आएका कैदीबन्दी बताउँछन् ।

कारागार यातनागृह नभई सुधारगृह भएको हुँदा कैदीबन्दीले मानवोचित सुविधा पाउनैपर्ने मानवअधिकारवादी सङ्घसङ्गठनका प्रतिनिधिले कारागार प्रशासन तथा स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

सम्बन्धित