तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँको पहिरोमा पुरिएका थप १ जनाको शव फेला, मृत्यु हुनेको संख्या ११, एक अझै बेपत्ता

तनहुँ । तनहुँमा गएको पहिरोमा परी हिजो सोमबारदेखि बेपत्ता रहेका एक जनाको शव भेटिएको छ । जिल्लाको व्यास–११ ओडारेका ५२ वर्षीय पदम बहादुर भुजेल(चेपाङ)को शव मंगलबार दिउँसो भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक (डिएसपी) युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

एउटा एक्साभेटर र एउटा सानो जेसिबीको प्रयोग गरेर मंगलबार बिहानदेखि पहिरोमा खोजी गर्दा मंगलबार ४ बजेतिर भुजेलको शव भेटिएको डिएसपी तिमिल्सिनाले बताउनुभयो । उहाँले भन्नुभयो ’मुचुल्का गरेर शव आफन्तलाई बुझाइयो ।’

नेपाल प्रहरी र एक्साभेटर र जेसिबीले खोजी गर्ने क्रममा भुजेलको शव भेटिएको व्यास ११ का वडाअध्यक्ष निर बहादुर खड्काले जानकारी बताउनुभयो । हिजो सोमबार नेपाली सेना, नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीले खोजी गरेको भए पनि नभेटिएपछि मंगलबार एक्साभेटरको प्रयोगबाट खोजी थालिएको थियो ।

भुजेलको शव भेटिएसँगै तनहुँका पहिरोले पुरिएर मृत्यु हुने ११ जनाको पुगेको छ भने एक जना अझै पनि बेपत्ता छन् । तनहुँको व्यास–९ माझफाँटका २० वर्षीय राजेश थापा भने अझैसम्म हराइरहेका छन् ।

उनको खोजि भईरहेको व्यास ९ का वडाअध्यक्ष सुरेश थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ’आज बिहानैदेखि एक्साभेटर, नेपाली सेना र नेपाल प्रहरीको टोलीले खोजी कार्य गरिरहेको छ ।’

जिल्लामा पहिरोमा परी १२ जना हराएका मध्ये ११ जनाको शव पहिरोबाट निकालि सकिएको र एक जना बेपत्ताको खोजि भईरहेको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button