बिद्युत सेवाबाट बञ्चित १५२ बिपन्न परिवारलाई गाउँपालिकाले दियो सोलार
भोजपुर । बिद्युत सेवा नपुगेका परिवारलाई भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाले सोलार सेट बितरण गरेको छ । गाउँपालिकाले सवै वडाका गरि १ सय ५२ बिपन्न परिवारलाई सोलार सेट बितरण गरेको हो ।
गाउँपालिकाले २० वाट क्षमताको सोलार सेट पालिका भित्र रहेका बिपन्न परिवारलाई बितरण गरेको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । अध्यक्ष राईले भन्नुभयो “भौगोलिक बिकटता र बिद्युतको पहुँच नपुगेका गाउँपालिकावासीलाई गाउँपालिकाले सोलार सेट बितरण गरेको हो, जसमा १ सय ५२ घर परिवारले पाएका छन ।”
बिद्युत बिस्तारको काम समेत गाउँपालिकामा क्रमिकरुपमा भैरहेकाले तत्कालका लागि पालिकावासी उज्यालोबाट बञ्चित हुन नपरोस भनेर सोलार सेट बितरण गरिएको हो गाउँपालिका अध्यक्ष राईले भन्नुभयो ।
गाउँपालिकाको संघीय सरकारको सशर्त अनुदान तर्फको बैकल्पिक सौर्य उर्जा कार्यक्रम अन्तर्गत आएको ११ लाख ३१ हजार बजेटबाट वडा नं.१ श्यामशिलाका २५ परिवार, वडा नं.२ तिवरीभञ्याङका १५ परिवार, वडा नं. ३ च्याङ्ग्रेका २० परिवार, वडा नं. ४ बास्तिमका ३३, वडा नं. ५ सानोदुम्माका २५ परिवार र वडा नं. ६ ठुलोदुम्माका ३० गरी १ सय ५२ घर परिवारलाई सोलार सेट वितरण गरेको छ । गाउँपालिका भित्र ६ वटा वडा रहेका छन ।
गाउँपालिकाले सोलारसंगै ती विपन्न परिवारलाई दोश्रो चरणको राहत समेत वितरण गरेको छ । यस अघि गत वर्षको सुख्खा खडेरी, अमेरीकन फौजी किरा लगायतबाट प्रभावित करिव तीन हजार स्थानीयलाई राहत दिएको भएपनि दोश्रो चरणमा विपन्न परिवारलाई मात्र राहत दिएको गाउँपालिकाले जनाएको छ ।
गाउँकार्यपालिकाको निर्णय अनुसार आर्थिक अवस्था कमजोर भएका अतिविपन्न परिवारलाई दोश्रो चरणमा राहत वितरण गरिएको हो । संकटको अवस्थामा सरकार छ भन्ने अनुभूति गराउन पालिकाले यो सहयोग गरिएको जनाएको छ ।
गाउँपालिकबाट सोलार पाए पछि बिपन्न परिवार समेत खुशी देखिन्छन । आर्थिक अभावका कारण टुकिको उज्यालोमा वस्नु पर्ने वाध्यताको अन्त्य भएको उनीहरुको भनाई छ ।
प्रतिक्रिया राख्नुहोस्