तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानका क्वारेनटाइन र आइसोलेसन खाली हुँदै, ३०६ वेडको आइसोलेसनमा १७ जना


सल्यान । सल्यानका पालिकाहरुमा निमार्ण गरिएको क्वारेनटाइन र आइसोलेशन खाली हुँदै जान थालेका छन् । मंगलबारसम्म जिल्लाका नौ पालिकामा ३ सय २३ जना क्वारेनटाइनमा बसी रहेका छन् भने १७ जना आइसोलेसनमा बसी रहेको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

क्वारेनटाइनबाट घर फर्कनेको संख्या थपिनेको तुलनामा धेरै बढी रहेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए । उनका अनुसार दश पालिकामा निमार्ण भएका १ सय ९ क्वारेनटाइन रहेकोमा अधिकांश खाली रहेका छन् ।

मंगलबारसम्म दार्मा गाउँपालिकामा २३, कुमाख गाउँपालिकामा २७, बागचौर नगरपालिकामा ७१, शारदा नगरपालिकामा १७, छत्रेश्वरी गाउँपालिकाका २८ जना बस्दै आइरहेका छन् ।

यस्तै त्रिवेणी गाउँपालिकामा १२, कपुरकोट गाउँपालिकामा ३०, कालिमाटी गाउँपालिकामा १० र बनगाड कुपिण्डे नगरपालिकामा ९० गरी ३ सय २३ जना क्वारेनटाइनमा बसी रहेको पोखरेलले बताए । सिद्ध कुमाख गाउँपालिकाका सबै क्वारेनटाइन खाली रहेका छन् । जिल्लामा २ सय २५ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय सल्यानका अनुसार शारदा नगरपालिकाका ४, बागचौर नगरपालिकाका ११, बनगाड कुपिण्डे नगरपालिकाका १ सय ५१, कुमाख गाउँपालिकाका २७, सिद्ध कुमाख गाउँपालिकाका ३, छत्रेश्वरी गाउँपालिकाका १, त्रिवेणी गाउँपालिकाका ८ जनामा कोरोना पुष्टि भएको छ । यस्तै कपुरकोट गाउँपालिकाका २, कालिमाटी गाउँपालिकाका २, दार्मा गाउँपालिकाका १५ र जिल्ला अस्पताल सल्यानका एक स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ ।

 

३०६ वेडको आइसोलेसनमा १७ जना

यस्तै सल्यानका विभिन्न पालिकामा निमार्ण गरिएका आइसोलेसन पनि खाली हुदै गएका छन् । कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्र्किएसँगै आइसोलेसन खाली हुदै गएका हुन । आइसोलेसन कक्ष लुहापिङमा ७, बनगाड कुपिण्डेको आइसोलेसनमा ९ र छत्रेश्वरी गाउपालिकाका आइसोलेनमा १ जनाको उपचार भइरहेको छ ।

स्वास्थ्य कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनका अनुसार सोमबारसम्म ५ हजार १ सय ३६ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । जसमा ४ हजार ८ सय ७६ जनाको रिर्पोट नेगेटिभ आएको छ भने २ सय २५ जनाको पोजेटिभ र ३५ जनाको स्वाब परीक्षणमा रहेको छ ।

बन्दाबन्दीको बिचमा भारत लगायत तेस्रो मुलुक र अन्तरजिल्लाबाट झन्डै १३ हजार बढी नागरिक जिल्ला भित्रिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button