तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा पहिरोमा पुरिएर १० जनाको मृत्यु, २ बेपत्ता 

तनहुँ । गएरातिदेखीको अविरल वर्षासँगैको पहिरोमा परि तनहुँमा १० जनाको मृत्यु भएको छ भने अन्य २ जना बेपत्ता भएका छन ।

तनहुँको म्याग्दे गाउँपालिकामा १ जना र व्यास नगरपालिकामा ४ जना, ऋषिङ गाउँपालिकामा ५ जना गरि १० जनाको मृत्यु भएको तनहुँस्थित हाम्रा संवाददाता किरण श्रेष्ठले जनाएका छन् ।

बाढीका कारण व्यास नगरपालिकामा २ जना बेपत्ता भएका छन् ।

म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा घरमाथिबाट खसेको पहिरोले घर भत्किँदा १५ वर्षीय लक्ष्मी विकको मृत्यु भएको म्याग्दे–६ का वडाध्यक्ष बसन थापाले जानकारी दिनुभयो ।

यसैगरी व्यास नगरपालिका–९ माझफाटमा पहिरोले पुरिएर कमला थापा, छोरा मदन, बुहारी अन्जनाको मृत्युभएको छ भने ७० वर्षीया एक बृद्धाको मृत्यु भएको र उनको सनाखत हुन बाँकी रहेको व्यास नगरपालिका–९ का वडाअध्यक्ष सुरेश थापाले जानकारी दिनुभयो ।

घाइते केशव थापालाई उद्धार गरी अस्पताल पठाइएको छ भने उनका छोरा राजेश बेपत्ता भएका छन् ।

त्यस्तै ऋषिङ गाउँपालिका–८ पल्ट्याङस्थित भैसीकिलीमा पहिरोले घर बगाउदा एकै परिवारका पाँच जना मृत्यु भएको छ । राती १ बजे घरमाथि रहेको सडकबाट खसेको पहिरोले आन बहादुर थापाको घर बगाउँदा उनका दुई छोरा भेषबहादुर र महादेव दुई बुहारी नानुुमाया र मनिसा र नातिनी अमिसाको मृत्यु भएको छ । घाइते ज्योती थापालाई उपचारको लागि पोखरा लगिएको छ ।

माझफाटको पहिरोमा पुरिएर राजेश थापा र व्यास–११ राम्चे ओडारेका पदम चेपाङ्ग बेपत्ता भएका छ्न । उनीहरुको खोजि भईरहेको प्रहरीले जनाएको छ ।

तनहुुँको अन्य दर्जनभन्दा बढी ठाउँमा बाढी पहिरोले क्षति पुुर्याएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button