२०७९ साल असोज १४ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

बाढी, पहिरो र डुबानबाट हालसम्म ८५ जनाको मृत्यु

तुलसी सापकोटा २०७७ असार २९ गते १६:५७

सरकारले बाढी पहिरो र डुबानबाट हालसम्म भएको क्षतिबारे संसदीय समितिमा जानकारी गराएको छ ।

राज्यव्यवस्था तथा सुशासन समितिको आज सिंहदरवारमा बसेको बैठकमा यस वर्षको मनसुन शुरु भएयता देशका विभिन्न ठाउँमा गएको बाढी, पहिरो र डुबानबाट ८५ जनाको मृत्यु भएको जनाएको छ ।

बाढी, पहिरो र डुबानमा परी हालसम्म ४६ जना वेपत्ता भएको, ५० जना घाइते भएको र १ सय ३४ घरमा क्षति पुगेको गृहमन्त्रालयले जनाएको छ ।

बाढी, पहिरो र डुबानबाट भएको क्षति र त्यसको न्युनिकरणका विषयमा छलफल गर्न बसेको समितिको बैठकमा गृहमन्त्री रामबहादुर थापाले प्रि मनुसनको समयमानै प्राकृतिक विपत्तिबाट धेरै ठूलो क्षति पुगेको भन्दै विपद्को सामाना गर्न योजनाबद्ध रुपमा सरकार अघि बढेको बताउनु भयो ।

उहाँले तीनै तहको सरकार, नीजी क्षेत्र र गैरसरकारी संस्थावीच समन्वय गरेर राहत तथा उद्धारमा जुटेको जानकारी समेत दिनुभयो ।

गृहमन्त्री रामबहादुर थापा बादलले भारतीय पक्षबाट एकातर्फी रुपमा सीमा क्षेत्रमा सडकरुपी बाँध बनाउँदा नेपाली भूमि डुबानमा परेको बताउनु भयो ।

उहाँले भारतले सीमा क्षेत्रमा हस्तक्षेप गरी बनाएको बाँध र संरचना हटाउन नेपाल सरकारले पहल गरिरहेको भएपनि त्यो सार्थक हुन नसकेको समेत बताउनुभयो ।

प्रकृतिक विपत्ति नियमित आउने प्रक्रियामा मानवीय क्रियाकलापका कारण धेरै क्षति हुने गरेको भन्दै गृहमन्त्री थापाले विपद्को न्युनिकरणका लागि एकीकृत बस्ती विकास, वैज्ञानिक रुपमा पूर्वाधार निर्मार्ण तथा जनचेतना जगाउनु पर्ने बताउनुभयो ।

बैठकमा गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले मनसुन उच्च हुदाँ बाढी पहिरो र डुबानको समस्या बढेको भन्दै सरकारले ७७ वटै जिल्लामा विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको जानकारी दिनुभयो ।

यस्तै राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले साउन महिनामा बाढि पहिरो र डुबानको बढी सम्भावना भएको तथ्याङ्कले देखाएको भन्दै देशभरका झण्डै ११ हजार घर बाढी पहिरोको उच्च जोखिममा रहेको बताउनुभयो ।

बैठकमा राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावित १४ जिल्ला बाढी र पहिरोको जोखिममा रहेको भन्दै सिन्धुपाल्चोक, गोरखा र रसुवा लगायतका जिल्ला उच्च जोखिममा रहेको जनाएको छ ।

यस्तै प्राधिकरणले ७ सय ४ घरहरु सुरक्षित स्थानमा तत्काल स्थानान्तरण गर्नु पर्ने, प्रदेश नम्बर दुई डुबानको उच्च जोखिममा रहेको र तराइको रौतहट जिल्ला बढी तटबन्ध निर्माण जस्ता मानवीय कारणले डुबानको समस्या बढी भएको जनाएको छ ।

सम्बन्धित