तपाईँ सुन्दै हुनुहुन्छः

जटिल अवस्थाकी गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार

अछाम । अछामबाट एक गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरि सुर्खेत पठाईएको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ८ बारलाकी २१ बर्षकी रमना विकलाई प्रसव अवस्था जटिल भएकोले सुत्केरी गराउनका लागि हेलिकप्टरबाट प्रादेशिक अस्पताल सुर्खेत लगिएको अछामका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले बताउनुभयो ।

सुत्केरी हुन स्वास्थ्य चौकी बारला पुगेकी रमनालाई अवस्था जटिल भए पछि जिल्ला अस्पताल रेफर गरिएको थियो ।

आज बिहान जिल्ला अस्पताल आएकी रमानाको अवस्था जटिल भए पछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । उनी अहिले अर्धबेहोस रहेकी र सुत्केरी हुने अन्तिम अवस्था रहेको जिल्ला स्वास्थ्य कार्यालय अछामका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मनोज बिष्टले बताउनु भयो ।

महिलामा प्रसुतीको दोस्रो अवस्था छ, यो अवस्था बच्चा जन्मिने अवस्था हो, बच्चा हुनका लागि शरीर समेत खुलिसकेको छ, तर महिला अर्धबेहास अवस्थामा छिन्, यो अवस्थामा पुरै बेहोस् गराएर अप्रेशन गर्नुपर्ने हुन्छ, त्यसका लागि भेन्टिलेटर सहित व्यवस्था भएको अस्पताल चाहिन्छ, हाम्रो अस्पतालमा साधारण आईसीयू मात्रै छ, त्यसैले उनलाई जतिसक्दो चाँडो बाहिर पठाई सुत्केरी गराउनुपर्ने भएकोले हेलिकप्टरबाट उद्धार गर्नुपर्ने अवस्था आएको हो ।ू जिल्ला अस्पताल प्रमुख डाक्टर विष्टले बताउनुभयो ।

स्थानीय जनप्रतिनिधि, जिल्ला स्वास्थ्य कार्यालय संगको समन्वयमा जिल्ला प्रशासन कार्यालयले हेलिकप्टरका लागि पहल गरेको हो । हेलिकप्टरलाई बिहानै खबर गरेपनि सुर्खेतमा मौसमको खराबीका कारण हेलिकप्टर उड्न नसकेको र अहिले दिउसो साढे १ बजे हेलिकप्टर अछाम आई महिलालाई लगेर गएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

रमनाको यसअघिको गर्भ खेर गएको र यो दोस्रो बच्चा भएको अस्पतालले जनाएको छ ।

नेपाल सरकार अन्तर्गत महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय मार्फत राष्ट्रपति महिला उद्धार कार्यक्रमबाट दुर्गम क्षेत्रका जटिल अवस्थाका महिलालाई सरकारले उद्धार गर्दै आईरहेको छ । लक डाउनको अवधि चैत्र ११ गते देखि हालसम्म अछामका ६ जना महिलाको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button