तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नंं २ सरकारको नीति, कार्यक्रम तथा बजेट बहुमतले पारित

जनकपुरधाम । प्रदेश २ को सरकारले प्रदेश सभामा पेश गरेको आर्थिक वर्ष २०७७/७८ का लागि पेश गरेको नीति तथा कार्यक्रम सहितको बजेट बहुमतले पारित भएको छ ।

आइतबार बसेको प्रदेश सभाको वैठकमा सर्वसम्मत हुन नसकेपछि मत विभाजन गर्दा अवेर साँझ बहुमतले प्रदेश सरकारको बजेट पारित गरेको प्रदेश नंं २ का सभामुख सरोज कुमार यादवले जानकारी दिनु भयो ।

मतदानमा ८० जना प्रदेश सभाका सदस्यहरु मात्र सहभागी भएका थिए । प्रदेशसभामा उपस्थित ७४ र जुम अनलाइनमा उपस्थित भएका ६ जना गरी ८० जनामध्ये ४८ जना सदस्यले प्रदेश सरकारको नीति, कार्यक्रम तथा बजेटको पक्षमा मतदान गर्नु भएको थियो ।

मत विभाजन प्रक्रियामा पक्ष र विपक्षमा उपस्थित प्रदेशसभाका सदस्यरुलाई उभिनका लागि सभामुखले आग्रह गरेपछि बहुमत सदस्य बजेटको पक्षमा देखिएकाले पारित भएको हो । प्रदेश नंं २ मा कूल १ सय ७ सदस्यहरु रहनु भएको छ ।

प्रदेश सभाको वैठकमा मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयको विषयमा उठेको प्रश्नहरुको जवाफ मुख्यमन्त्री लालबाबु राउतले दिएपछि आर्थिक विकास तथा योजनामन्त्री विजय यादवले बजेट पारित गर्नका लागि सभामुख मार्फत आग्रह गरेपछि सभामुख सरोज यादवले निर्णयार्थ प्रस्तुत गरेपछि बहुमतले पारित गरेको छ ।

प्रदेश सभामा रहेका प्रमुख प्रतिपक्षी दल नेकपा सचेतक सुन्दर बहादुर विश्वकर्माले प्रदेश सरकारको नीति तथा कार्यक्रम एवंं बजेट असहमति जनाउँदै वैठकमा मत विभाजनको माग गरेपछि मत विभाजन गरेर बजेट पारित गराउने काम भएको थियो ।

विपक्षीले मत विभाजनको माग गरेपछि प्रदेशसभामा उपस्थित र कोरोना तथा वर्षा र वाढीका कारणले उपस्थित हुन नसकेका प्रदेश सभाका सदस्यहरुलाई आधुनिक प्रविधिको प्रयोग गरेर अनलाइनमा मतदानमा सहभागि गराउने काम भएको थियो । प्रदेश नंं २ मा तत्कालिन संघीय समाजवादी पार्टी तथा राष्ट्रिय जनता पार्टी र हालका समाजवादी जनता पार्टी नेपालको सामान्य बहुमत रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button