तपाईँ सुन्दै हुनुहुन्छः

चार युवाले शुरु गरे ड्रागन फ्रुटको व्यावसायिक खेती

खोटाङ-साकेला गाउँपालिका–२ रतन्छाका चार युवाले सामूहिकरूपमा ड्रागन फ्रुटको व्यावसायिक खेती शुरु गरेका छन् । स्थानीय पर्वत राई, सन्तराज राई, निशन राई र चन्द्रकला राईले पारुहाङ ड्रागन फार्म आधिकारिक रूपमा दर्ता गरेर व्यावसायिक ड्रागन फ्रुटको खेती शुरु गरेका हुन् ।

पहिलो चरणमा झापाबाट तीन हजार बिरुवा ल्याएर आठ रोपनी जग्गामा ड्रागन फ्रुटको व्यावसायिक खेती शुरु गरिएको सञ्चालक पर्वतले बताउनुभयो ।

झापाबाट खरिद गरेर ल्याइएका बिरुवामध्ये आधा सङ्ख्याको बिरुवा रोपेर अन्य बिरुवा नर्सरीमा राखिएको जनाइएको छ । फार्म सञ्चालकले ड्रागन फ्रुटको बिरुवालाई उभ्याउन रड, सिमेन्ट र बालुवाको पिलर ठड्याएका छन् । पिलर नजिकै रोपिएको ड्रागन फ्रुटको बिरुवा बढेर पिलर जतिकै अग्लो भएपछि पिलरमाथि बङ्ग्याइएको रडमा मोटरसाइकलको टायर राखेर ड्रागनको बोट झुण्डिने ठाउँ बनाइने छ । ड्रागन फ्रुटको सम्भावनालाई अध्ययन गरेर १० वर्षका लागि जग्गा भाडामा लिएर व्यावसायिक खेती शुरु गरिएको अर्का सञ्चालक सन्तराजले बताउनुभयो ।

गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ मा उपलब्ध गराएको रु आठ लाख अनुदान र चारजनाले प्रति व्यक्ति शेयर रु एक÷एक लाख गरी रु १२ लाखमा ड्रागन फ्रुटको खेती शुरु गरिएको जनाइएको छ । ड्रागन फ्रुटको खेतीलाई मध्यनजर गर्दै जिल्लाकै हलेसी तुवाचुङ नगरपालिकाले किसानलाई तालीम दिएको केही समयपछि रतन्छाका चार युवाले ड्रागन फ्रुटको खेतीमा लगानी गरेका हुन् ।

आगामी वर्ष थप १५ रोपनी जग्गामा ड्रागन फ्रुटको खेती विस्तार गर्ने तयारी गरिएको उनीहरुको भनाइ छ । चार युवाले यूट्युव हेरेर समुद्री सतहबाट करिब एक हजार १०० मिटर उचाइमा रहेको जग्गामा ड्रागन फ्रुटको खेती लगाएका हुन् । पालिकास्तरीय नमूना कृषि फार्म स्थापना तथा सिँचाइ केन्द्र शीर्षकमा विनियोजन गरिएको रकमबाट रतन्छामा ड्रागन फ्रुटको खेती शुरु गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख गणेश राईले बताउनुभयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button