तपाईँ सुन्दै हुनुहुन्छः

भीमदत्तलाई हरित नगर बनाउन विरुवा वितरण

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकालाई हरित नगर बनाउने उद्देश्यले विरुवा वितरण शुरु गरिएको छ । चालु आर्थिक वर्षमा भीमदत्त नगरपालिका र डिभिजन वन कार्यालयको सहकार्यमा उत्पादन गरिएका विरुवा वितरण गरिएको हो । डिभिजन वन कार्यालयको नर्सरीमा ३० हजार विरुवा उत्पादन गरी ती विरुवा निःशुल्क रुपमा वितरण गरिएको भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले बताउनु भयो ।

भीमदत्त नगरपालिकालाई क्लिन सिटी, ग्रिन सिटी बनाउने लक्ष्य र हरित नगर बनाउने सबै नगरवासीको चाहना बमोजिम काम भइरहेको नगर प्रमुख बिष्टले बताउनुभयो । नर्सरीबाट लगिएका सबै विरुवा वृक्षारोपण गरी सदुपयोग गर्न उहाँले सबैलाई आग्रह गर्नुभएको छ । स्थानीय तहको निर्वाचन पछि हरित नगर बनाउने नीति अनुसार स्थानीय नागरिकलाई विरुवा वितरण गरिएको उहाँको भनाइ छ । भीमदत्त नगरपालिकाले एक घर, चार विरुवा वितरण अभियान समेत चलाउँदै आएको छ ।

नगरपालिकाले कागजात विना १० विरुवा दिने गरेको छ । नागरिकता र जग्गाधनी पूर्जाका आधारमा एक सय विरुवासम्म दिने गरिएको छ । यसैगरी एक सय भन्दा बढी विरुवाका लागि नागरिकता, जग्गाधनी पूर्जा र सम्बन्धित कार्यालयको सिफारिस माग गरिएको छ ।

सरकारी तथा गैर सरकारी संघ संस्थालाई पनि विरुवा वितरण गरिने बताइएको छ । कोभिड १९ को संक्रमणको कारण विरुवा लिन आउँदा मास्क अनिवार्य गरिएको भीमदत्त नगरपालिकाका वातावरण विकास अधिकृत गणेश ठगुन्नाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button