२०७९ साल असोज ११ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

राजनैतिक गतिविधिले कोरोना र प्रकोप विरुद्धको एकता कमजोर हुनु हुँदैन : अध्यक्ष प्रचण्ड

शिशिर सिंखडा २०७७ असार २८ गते १५:५६

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको समयमा पार्टीका राजनैतिक गतिविधि र अन्य विवादले कोरोना र प्रकोप विरुद्धको सङ्घर्ष कमजोर बनाउन नहुनेमा जोड दिनुभएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति चितवनको बैठकलाई आइतबार सम्बोधन गर्नुहुँदै उहाँले प्रकोप विरुद्धको सङ्घर्ष एकजुट भएर गर्नुपर्ने बताउनुभयो । उहाँले कोरोना र प्रकोप विरुद्धको सङ्घर्ष कमजोर हुन नहुने बताउनुभयो ।

अहिले बाढी पहिरोको उच्च जोखिम भएको भन्दै उहाँले नेकपाले आफ्नो बैठक एक साताका लागि स्थगित गरेर जनताको माझमा आँफुहरु आएको बताउनुभयो । उहाँले भन्नुभयो “बाढी पहिरोको उच्च जोखिममा छ । यस्तो बेलामा पार्टीका राजनैतिक गतिविधि र अन्य विवादले यो एकता कमजोर नहोस् ।”

उहाँले पार्टीको बैठक भन्दा जनतासँग जाने कुरा मुख्य हो भनेर आँफुहरुले बैठक रोकेको बताउनुभयो । कोरोना र विपद् विरुद्धको सङ्घर्षमा एकता नै मुख्य कुरा भएको उहाँको भनाई थियो । दाहालले भन्नुभयो “एकतालाई कमजोर पार्ने काम कहीँ कतैबाट भयो भने त्यो जनताको पक्षको काम भन्ने ठहरिदैंन ।”

पार्टी एकताको पक्षमा उठेका विषयमा भइरहेको पहललाई सकारात्मक रूपमा लिदैं उहाँले आगामी दिनमा अझै दृढताका साथ एकताबद्ध भएर अगाडि बढ्ने बताउनुभयो ।

उहाँले जिल्लामा राप्ती, नारायणी र रिउ नदीमा तटबन्ध सहितको रिङ्गरोड निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन बनेर अर्थ मन्त्रालयमा बजेटका लागि पेस भएको बताउनुभयो । यससँगै यस क्षेत्रको विकासमा नयाँ आयाम आउने उहाँको भनाई थियो । दाहालले भन्नुभयो “यो मेरो ड्रिम प्रोजेक्ट हो । यो चितवनका जनताको समृद्धिको आधार बन्छ ।”

सो अवसरमा प्रदेश सभा सदस्यहरू, राजनैतिक दलका प्रमुखहरू, स्थानीय तहका प्रमुखहरू, सरोकारवाला कार्यालयका प्रमुखहरू, सरोकारवाला सङ्घ संस्थाका प्रतिनिधिहरूले आ–आफ्नो क्षेत्रको गतिविधि र धारणा राख्नु भएको थियो ।

बैठकमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जिल्लाको समग्र बिपद व्यवस्थापनको पूर्व तयारी र अहिलेको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।

चितवन क्षेत्र नम्बर तीनका निर्वाचित सांसद समेत रहनु भएका दाहाल उपस्थित भएको बेला पारेर विपद्को बैठक राखिएको हो । दाहाल आफ्नै क्षेत्रमा पर्ने मेघौलीमा नारायणी नदीको कटान र माडी क्षेत्रमा भएको मानवीय क्षतिपछि निरीक्षणका लागि गृह जिल्ला आउनुभएको हो ।

सम्बन्धित