२०७९ साल असोज ११ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

अविरल वर्षा : झापामा ८० घर डुबानमा, ३८ परिवार विस्थापित

रोहित काफ्ले २०७७ असार २८ गते १५:१७

भद्रपुर, झापा । अविरल वर्षापछि झापाको कनकाई नदीमा आएको बाढीका कारण ८० घर डुबानमा परेका छन् । तीमध्ये ३८ घरपरिवार पूर्ण स्थिापित भएका छन् ।

प्राप्त समाचार अनुसार झापा गाउँपालिका–१ स्थित मिलन बस्तीका ४० घर, गौरीगञ्ज गाउँपालिका–१ होकलबारीका ३० घर र शिवसताक्षी नगरपालिका–६ का १० घर डुबानमा परेका छन् ।

भारी वर्षाका कारण कनकाईमा आएको बाढी शनिवार रातिदेखि मिलन बस्तीमा पसेको हो । बस्तीमा ८२ घरपरिवारको बसोबास छ । उनीहरूमध्ये ४० घर डुबानमा परेकाले ती घरका सबैलाई सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष राजकुमार यादवले जानकारी दिनुभयो । कनकाईको बाढीले वडाको सालमारामा एक सय ५० घर, लसुनगञ्जमा ५० घर र सितुमारीमा ४० घर डुबानको उच्च जोखिममा रहेको वडाध्यक्ष यादवले बताउनुभयो ।

कनकाई नदीको बाढी बस्तीमा पस्दा गौरीगञ्ज–१ होकलबारीमा ३० घर डुबानमा परेका छन् । नदी किनारको बाँध ओभरफ्लो भई बाढी बस्तीमा पसेको हो ।

बाढीले बस्तीसम्म जाने बाटो समेत अवरुद्ध भएकाले उद्धार टोली पुग्न कठिन भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।

कनकाई नदीको बाढीले शिवसताक्षी–६ पुरानो शिवगञ्ज बजारका १० घर डुबानमा पारेको छ । नदी किनारको बाँध फुटाएर बाढी बस्तीतर्फ बस्दा १० घरका सबै सदस्यलाई सुरक्षित स्थानमा सारेको वडाध्यक्ष मनोज खुलालले बताउनुभयो । थप एक सय ५० घर डुबानको उच्च जोखिममा रहेको उहाँले बताउनुभयो ।

यसै गरी, जिल्लाकै पालिया खोलामा आएको बाढीले मेचीनगर नगरपालिका–७ सिद्धार्थ टोलका नौ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । नदी किनार कटानको उच्च जोखिममा परेकोले नौ घरका ४२ जनालाई सुरक्षित स्थान प्यारिभिट्टाको बसपार्कको भवनमा ल्याएर राखेको डिएसपी थापाले बताउनुभयो ।

यसअघि कनकाई नदीको बाढीले शनिवार शिवसताक्षी–१०स्थित सुकुम्वासी बस्तीका चार परिवार विस्थापित भएका थिए । उनीहरूलाई रेडक्रसको सहयोगमा नजिकैको चौरमा टेन्ट लगाएर राखिएको छ ।

बाढीले बगाउँदा शनिवार झापामा एक व्यक्तिको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

अहिले पानी पर्न केही रोकिएकोले नदीहरूमा पानीको सतह पनि घट्न थालेको तर पानी पर्नासाथ सतह बढ्ने भएकोले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन भनिएको नेपाल रेडक्रस सोसाइटी झापाका विपद् फोकल पर्सन हरिशरण खड्काले जानकारी दिनुभयो ।

रुख ढल्दा बाटो अवरुद्ध
अविरल वर्षापछि जरा खोतलिएर सालको ठुलो रुख ढल्दा आइतबार बिहान केही समय झापाको भद्रपुर–चारआली सडक अवरुद्ध बन्यो ।

पूर्वतर्फ ढल्किएको रुख जिल्ला वन कार्यालय, चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको समन्वयमा डोजर लगाएर हटाएपछि अवरुद्ध सडक सुचारु भएको समूहका अध्यक्ष हिरा पोखरेलले जानकारी दिनुभयो ।

सम्बन्धित