तपाईँ सुन्दै हुनुहुन्छः

बजार नपाएपछि बारीमै कुहियो टमाटर

सल्यान । कोरोना सङ्क्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेपछि व्यापारीहरू नआउँदा उत्पादन भएको टमाटर बारीमै कुहिएको छ ।

बन्दाबन्दीले व्यापारी नआउँदा आफ्नो १५ रोपनीमा लगाएको टमाटर बारीमै कुहिएको दार्मा गाउँपालिका–५ आलका किसान भुमबहादुर चन्दले बताउनुभयो ।

अन्नबाली हुने बारीमा तरकारी खेती लगाइयो तर यो वर्ष बिउको मूल्य पनि उठेन उहाँले बताउनुभयो । १५ रोपनीमा लगाइएको टमाटरबाट १० लाखभन्दा बढी आम्दानी हुने भए पनि यो वर्ष एक किलो पनि बिक्री नभएको चन्दको भनाई छ ।

तरकारी खेतीलाई मुख्य आम्दानीको स्रोत बनाउँदै आए पनि उत्पादन भएको सबै बारीमै कुहिए पछि घर खर्च चलाउन नै मुस्किल भएको अर्का कृषक रामकृष्ण चन्दले बताउनुभयो ।

गाउँका झन्डै एक दर्जन किसानले लगाएको टमाटर बारीमै रहेको उहाँको भनाई छ । आफ्नो आम्दानीको स्रोत नै बन्द भएपछि आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्न दार्मा गाउँपालिकालाई आग्रह गरिएको चन्दले बताउनुभयो ।

किसानहरूले उत्पादित तरकारी बिक्री गरिदिने वातावरण बनाइदिन आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button