तपाईँ सुन्दै हुनुहुन्छः

म्याग्दीमा पहिरोमा पुरिएका १९ जनाको शव भेटियो

म्याग्दी । म्याग्दीमा शुक्रवार गएको पहिरोमा पुरिएका मध्ये अहिलेसम्म १९ जनाको शव फेला परेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी महेश सुबेदीका अनुसार आज बिहान धौलागिरी गाउँपालिका–६ मनाङमा १० जना, मालिका गाउँपालिका–७ बिममा आठ जना र रघुगंगा गाउँपालिका–१ ठाडा पानीमा एक जनाको शव फेला परेको हो ।

नेपाली सेना, शसत्र प्रहरी, जनपद प्रहरी र स्थानीय बासिन्दाहरूले खोजी गर्दा बेपत्ता भएकाहरूको शव फेला पारेको सहायक प्रजिअ सुबेदीले बताउनुभयो । बेपत्ता भएका १३ जनाको अवस्था अझै पत्ता लाग्न सकेको छैन । उनीहरूको खोजी कार्य जारी रहेको सुबेदीले बताउनुभयो ।

बेपत्ता भएकाहरूको खोजीका लागि सेनाको हेलिकोप्टर र प्रभु कम्पनीको हेलिकोप्टर परिचालन भएको छ ।

जिल्ला प्रशासन कार्यालयले घाइते भएका धौलागिरी गाउँपालिका–६ मराङका दुई जनालाई पोखरा र मालिका गाउँपालिका–७ बिमका एक जनालाई उपचारका लागि बेनी अस्पताल पुर्‍याएको छ ।

पहिरोको कारण धौलागिरी गाउँपालिका र मालिका गाउँपालिकाका बस्तीहरू क्षतविक्षत भएको छ । ९० घर परिवार पहिरोले विस्थापित भएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button