तपाईँ सुन्दै हुनुहुन्छः

हत्या आरोपमा चितवनमा सात जना पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले दुईजना व्यक्तिको शङ्कास्पद मृत्युका विषयमा अनुसन्धान गर्न सात जनालाई नियन्त्रणमा लिएको छ ।

भरतपुर महानरपालिका–१० मा बोरामा पोको पारेर फालिएका भरतपुर महानगर वडा नम्बर १४ का राजकुमार गुरुङको हत्याको आशङ्कामा पाँच जनालाई नियन्त्रणमा लिइएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार गुरुङको परिवारको किटानी जाहेरीको आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । यस्तै भरतपुर महानगरपालिका–२५ शुक्रनगरमा आफ्नै बारीमा मृतावस्थामा भेटिएका २७ वर्षीय सञ्जय खनालको मृत्यु प्रकरणमा संलग्न रहेको आशङ्कामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

खनालको हत्या गरेको आशङ्कामा तीन जनालाई नियन्त्रणमा लिइएको भए पनि एक जनालाई निगरानीमा राख्ने गरी छाडिएको थापाले बताउनुभयो । खनाल यही असार १८ गते आफ्नै बारीमा मृत अवस्थामा भेटिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button