तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २ सरकारद्वारा तयारी अवस्थामा रहन सुरक्षाकर्मीलाई निर्देशन

वीरगञ्ज । हिजो देखि सुरु भएको भारी वर्षाका कारण बाढी र डुबान हुन सक्ने भन्दै प्रदेश २ सरकारले सुरक्षा निकायलाई तयारी अवस्थामा बस्न निर्देशन दिएको छ ।

आज आयोजित विपद व्यवस्थापन समितिको बैठकमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बाढीको जोखिम न्युनीकरण गर्नका लागि उच्च सतर्कतासाथ बस्न नेपाल तथा सशस्त्र प्रहरी र नेपाली सेनालाई निर्देशन दिनु भएको छ ।

प्रदेशको आठवटै जिल्ला बाढीको उच्च जोखिममा रहेको भन्दै सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिईएकोे मुख्यमन्त्री लालबाबु राउतले बताउनु भयो ।

बैठक पछि रेडियो नेपालसँग संक्षिप्त कुरा गर्दै मुख्यमन्त्री राउतले जोखिम न्यूनिकरणका लागि आवश्यक सामग्रीको तत्काल आपूर्ति गर्न सम्बन्धित मन्त्रालय र निकायहरुलाई निर्देशन समेत दिईएको जानकारी दिनुभयो ।

बैठकमा जोखिम न्यूनीकरणको लागि आन्तरिक मामिला तथा कानून मन्त्रालय र सुरक्षा निकायहरुले गरेको तयारीबारे मुख्यमन्त्री राउतलाई जानकारी गराइएको थियो ।

यसैबीच, जिल्ला विपद व्यावस्थापन समिति पर्साको आज सम्पन्न बैठकले हाल भई रहेको अविरल वर्षाका कारण वीरगंज तथा पर्सा जिल्लामा बाढी र डुबान हुन सक्ने भन्दै उद्दार र राहतका लागि तयारी अवस्थामा बस्ने निर्णय गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीको अध्यक्षतामा सम्पन्न बैठकले विपद् व्यवस्थापनका लागि आवश्यक तयारी गर्न सबै सरोकारवाला निकाय तथा स्थानीय तहसँग समन्वय गर्ने निर्णय गरेको छ ।

पर्सा जिल्लामा चुरेबाट बग्ने नदी नालामा पानीको वहाव बढदै गएको र खोला नाला आसपासमा बस्ने सर्वसाधारणलाई सुरक्षित रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी कार्कीले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button