२०७९ साल असोज १९ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

कपुरकोटका एक सय बढी घर पहिरोको उच्च जोखिममा

दिपक शर्मा २०७७ असार २६ गते १३:४८

सल्यान । कपुरकोट गाउँपालिका–३ कपुरकोटका एक सय बढी घर पहिरोको उच्च जोखिममा रहेका छन् । ३० वर्ष लामो खारा पहिरोले वर्षेनी जमिन भासिँदै गएपछि कपुरकोट बजार लगायतका एक सय घर परिवारलाई पहिराले पिरोल्दै आइरहेको छ ।

पहिरो रोकथामका लागि धेरै प्रयास गरिए पनि पहिरो जाने क्रम नरोकिएको कपुर कोट बजार व्यवस्थापन समितिका अध्यक्ष रुपक बुढाले बताउनुभयो । खारा पहिरो वर्षातामा मात्र नभई सुख्खा समयमा समेत जाने भएकाले जोखिम सधैँ रहेको उहाँको भनाइ छ ।

पहिरो रोकथामका लागि हालसम्म तीन करोड ८० लाखभन्दा बढी खर्च भइसक्दा समेत पहिरो रोकिने छाँटकाँट नभएको खारा पहिरो नियन्त्रण संरक्षण समितिका अध्यक्ष तिलक बहादुर सिंह ठकुरीले बताउनुभयो । धेरै ठुलो पहिरो भएकाले धेरै लगानी गर्दा पनि नियन्त्रण गर्न नसकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिरो नियन्त्रण गर्न धेरै क्षेत्रबाट प्रयास भइरहेका छन् तर सबै प्रयास असफल हुँदै आइरहेका छन् ।’

पहिरोका कारण खेतीयोग्य जमिने समेत भासिँदै गइरहेको छ । २०५२ सालदेखि पहिरो रोकथामका लागि प्रयास गरी रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘यहाँको माटो नुनिलो भएकाले जाली छिट्टै गल्ले समस्याका कारण थप समस्या हुने गरेको छ । पहिरो रोकथाममा लाग्नु भन्दा पनि अव राज्यले जोखिममा रहेको बस्तीलाई स्थानान्तरण गर्नुपर्छ ।’

कपुर कोटको खारा पहिरोमा सघिंय राज्य समेत जानकार भएकाले यसका बारेमा सङ्घीय सरकारले पहल लिनु पर्ने कपुर कोट गाउँपालिका–३ का वडाध्यक्ष मिन बहादुर सेनले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कपुर कोट बजार नै ७ मिटर तल भासी सकेको भन्दै गाउँपालिकाले पहिरोका कारण भत्किएका घरमा नबस्न पटक पटक सार्वजनिक सूचना जारी गरे पनि स्थानीयले मानेका छैनन् ।’

सम्बन्धित