तपाईँ सुन्दै हुनुहुन्छः

उद्दारको लागि गएको सभामुखको हेलिकप्टर फर्कियो जिल्लामा आपतकालिन बैठक

 

मेलम्ची- बाह्रबिसे नगरपालिका– ५ जम्बुमा गए राति परेको अविरल वर्षाका कारण भोटेकोशीमा आएको बाढीले घाइते भएकाहरुको उद्दारको लागि काठमाण्डौबाट उडेको हेलिकप्टर फर्किएको छ ।

उद्दारको लागि उडेको सभामुख अग्नीप्रसाद सापकोटासहित टोलीको हेलिकप्टर धुलिखेलबाट फर्किएको छ । खराब मौसमका कारण हेलिकप्टर घटनास्थल नपुगि धुलिखेलबाटै फर्किएको सभामुख सापकोटाको सञ्चार विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो । अहिले सभामुख सापकोटा, बागमती प्रदेशको आन्तरिक मामिला मन्त्री सालिकराम जमरकट्टेल लगायतको टोली त्रिभुवन विमानस्थलमा मौसम अनुकुल हुनासाथ घटनास्थल पुग्नको लागि तयारी अवस्थामा छन् ।

यता घाइतेको उद्दारको लागि गएको नेकपाका केन्द्रिय सदस्य माधव सापकोटासहितको टोली रहेको हेलिकप्टर दुर्घटनाहुनबाट जोगिएको छ । कैलाश एयरको हेलिकप्टर उद्दारको लागि बिहान ८ बजे काठमाण्डौबाट उडेको थियो । मौसम खराबिका कारण झण्डै दुर्घटना भएको सापकोटाले बताउृनुभयो । सो हेलिकप्टर अहिले काभ्रेको मंगलटारमा अवतरण गरिएको छ ।

बाढी आएको क्षेत्रमा पानी परिरहेको कारण घाइतेहरुको उद्दार हुन सकेको छैन । बलेफी गाउँपालिका– ८ जुरेबाट ७ स्थानमा सडक अबरुद्ध भएको छ । जुरे, खुर्सानीबारी, खाग्दल, झालेभीर, चाकु, लिस्ती जानेबाटो र डाक्लाङमा बाढीले सडकमा क्षति पु¥याएको छ । जसका कारण उद्दारमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ ।

सो ठाउँमा घाइतेहरुको कसरी उद्दार गर्ने र स्थानीयलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा जिल्ला विपद् व्यवस्थापन समितिको आपतकालिन बैठक बसिरहेको छ । बैठकले मौसम नखुलेसम्म उद्दार गर्न नसकिने निचोड निकालेको छ । ‘ठाउँठाउँमा बाटो अबरुद्ध छ, जानसक्ने अवस्थानै छैन’, विपद् व्यवस्थापन समितिको अध्यक्ष समेत रहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भन्नुभयोे– ‘हेलिकप्टर समेत जानसक्ने अवस्था छैन, यस्तो बेला कसरी उद्दार गर्ने हामी अन्यौलमा छौं ।’

बाह्रबिसे नगरपालिका– ५ जम्बुमा पर्ने एल्मो ठाडो खोलामा आएको बाढीले १४ घर बगाएको छ भने २ को शव फेला परेको छ । बाह्रविसे नगरपालिका–५ जम्बु निवासी २० वर्ष निकेश बस्नेत र उनको ३ वर्षीया छोरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । ३ जना घाइतेलाई भने उद्दार गरिएको छ । उनीहरुको अवस्था गम्भीर रहेको जनाईएको छ । उनीहरुको उपचार हुन सकेको छैन ।

स्थानीयवासीहरुका अनुसार १४ घर खोलाले बगाएको छ भने १८ जना बेपता भएका छन् । एल्मो खोलामा आएको बाढीले एल्मोको शीर रहेको बुगाम गाउँको केहि घर पनि क्षति पु¥याएको बाह्रविसे– ५ का वडा कार्यालय सहायक बुद्ध श्रेष्ठले जानकारी दिनुभयो । जलेटार ब्यारेकमुनिको सडक खोलाले बगाएपछि त्यहाँ माथिको भौतिक सम्पर्क टुटेको छ । जम्बुलगायत तातोपानी क्षेत्र जानका लागि मानेश्वाराको बाटो हुँदै जानुपर्ने हुन्छ । यताबाट जान नसकिने हुँदा उता के भएको छ भन्ने एकिन विवरण प्राप्त भएको छैन् ।

खोलाले बाह्रबिसेमा दुई टहरा बगाएको छ । यसैबीच प्रहरीका अनुसार ड्यामसाइडको भितोसहित बगाएको हुँदा त्यहाँ माथि जान सक्ने अवस्था छैन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार जम्बु र भोटेकोशी गाउँपालिकाको बञ्जी जम्प भएको नजिकै रहेको दुई स्थानमा मानवीय क्षति भएको तर ठाउँठाउँमा बाटोमा क्षति भएको कारण प्रहरीलाई सो स्थानमा पुग्न कठिनाइ भइरहेको छ । क्षतिको यकिन विवरण आइनसकेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button