तपाईँ सुन्दै हुनुहुन्छः

५ जिल्ला कोरोना संक्रमण मुक्त

आज थप २ सय ५३ जना कोरोना भाइरस संक्रमण मुक्त भई घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशको विभिन्न स्थानमा रहेका आइसोलेसन सेन्टरबाट थप २ सय ५३ जना संक्रमण मुक्त भएपछि हाल सम्म ७ हजार ७ सय ५२ जना संक्रमण मुक्त भएको जानकारी दिनुभयो ।

प्रवक्ता प्रा.डा. गौतमले नेपालमा हाल सम्म कुल संक्रमित मध्ये ४७ दशमलव २ प्रतिशत संक्रमण मुक्त भई घर फर्किएको र धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ तथा हुम्लाका सबै संक्रमितहरू संक्रमण मुक्त भएको जानकारी दिनुभयो ।

यसैगरी आज थप २ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै नेपालमा कूल संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ ।

आज देशका विभिन्न स्थानका २५ वटा प्रयोगशालामा ४ हजार ६ सय ९६ वटा नमुनाको रियल टायम पिसिआर परीक्षण गर्दा २ सय ५५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमले जानकारी दिनुभयो ।

यसैबिच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी खर्चमा नै कोरोना परीक्षण भइरहेकाले शुल्क लिने संस्थालाई नियमानुसार कारवाही हुने जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कतिपय स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना परीक्षणबापत रकम लिने गरेको पाइएकाले त्यस्ता संस्थालाई कारबाही गर्ने बताउनुभयो ।

अत्यावश्यक कामका लागिभन्दा बाहेक घर बाहिर ननिस्कन र भीडभाड नगर्न स्वास्थ्य मन्त्रालयले नागरिकलाई अनुरोध समेत गरेको छ ।

लकडाउन खुकुलो भएसँगै कार्यालय, पसल र सडकमा भीडभाड बढेको देखिनु स्वाभाविक जस्तो लागे पनि त्यसले जोखिम निम्ताउने प्रवक्ता प्रा.डा. गौतमले बताउनुभयो ।

प्रवक्ता गौतमले कोरोना भाइरस सङ्क्रमणमुक्त भएर घर फर्किएकालाई परिवार र समाजले राम्रो व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button